वैशाख ७, एजेन्सी । मध्यपूर्वमा चलिरहेको तनाव र युद्धविरामको समयसीमा नजिकिँदै गर्दा इरानले अहिले अमेरिकासँगको वार्तामा भाग सहभागी हुने योजना नभएको बताएको छ । इरानी राज्य सञ्चारमाध्यमका अनुसार वर्तमान परिस्थितिमा इरानले अमेरिकासँगको वार्ताको अर्को चरणमा सहभागी हुने कुनै तयारी गरेको छैन ।

आफ्ना बन्दरगाहहरूमा अमेरिकाको नाकाबन्दी र पछिल्ला घटनाहरूले वार्ताको वातावरणलाई नकारात्मक बनाएको इरानले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना वार्ताकारहरूलाई पाकिस्तान जान निर्देशन दिनुभएका बेला इरानको यो जवाफ आएको हो ।

तनाव थप चर्किने क्रममा हिजो अमेरिकी नौसेनाको युद्धपोतले इरानी झण्डा बोकेको एक मालवाहक जहाजमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको अमेरिकी पक्षले जनाएको छ । यस घटनापछि इरानले अमेरिकी सैन्य जहाजहरूतर्फ ड्रोन पठाएको दाबी गरेको छ ।

यो तनाव गएको फेब्रुअरी २८ मा इरानमाथि भएको अमेरिकी–इजरायली आक्रमणपछि शुरू  भएको द्वन्द्वसँग जोडिएको छ जसले मध्यपूर्वमा ठूलो स्तरको युद्ध रोकिएको भए पनि अस्थिरता कायम राखेको छ ।

अहिले लागू दुई हप्ते युद्धविरामको समयसीमा समाप्त हुन केही दिन मात्र बाँकी छ । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताबारे आशावादी देखिँदै इरानलाई ‘न्यायसङ्गत सम्झौता’ स्वीकार गर्न आग्रह गर्नुभएको छ । उहाँले सम्झौता नभए इरानको पूर्वाधारमाथि थप दबाव दिने चेतावनी दोहोर्‍याउनुभएको छ ।

यसैबीच पाकिस्तानमा हुने भनिएको वार्तालाई लिएर इस्लामाबादमा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ । सडक बन्द, ट्राफिक नियन्त्रण र सुरक्षा निगरानी कडा पारिएको खबरमा उल्लेख छ ।

वार्ताको प्रमुख मुद्दामध्ये एक इरानको उच्च समृद्ध युरेनियम भण्डार रहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले केही युरेनियम हस्तान्तरण गर्न सहमति जनाएको दाबी गर्नुभएको छ तर इरानी विदेश मन्त्रालयले भने यस्तो कुनै सहमति नभएको बताएको छ ।