असोज १४, कैलाली । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, मसुरिया उपशाखाले मोहन्याल गाउँपालिका–३ का वडा सदस्य स्वर्गीय मानबहादुर बिष्टको परिवारलाई रु। १२ लाख मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।


कम्पनीको टोलीले मोहन्याल गाउँपालिका–३ को वडा कार्यालयमै पुगेर मृतकका परिवारलाई उक्त दाबी रकम हस्तान्तरण गरेको हो । स्वर्गीय बिष्टको आकस्मिक रूपमा बिरामी परेका कारण निधन भएको थियो ।

मोहन्याल गाउँपालिका र हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडबीच भएको सम्झौताअनुसार गाउँपालिकाका जनप्रतिनिधिहरूको रु। १० लाखको म्यादी जीवन बीमा गरिएको थियो । उक्त बीमा योजनाअन्तर्गत स्वर्गीय मानबहादुर बिष्टको बीमा शुल्कबापत गाउँपालिकाले वार्षिक रु। ११,४६० भुक्तानी गर्दै आएको थियो ।
सोही बीमा योजनाअन्तर्गत स्वर्गीय बिष्टको परिवारलाई रु। १० लाख बीमाङ्क रकम तथा रु। २ लाख क्रिया खर्च लाभ गरी कुल रु। १२ लाख मृत्यु दाबी रकम भुक्तानी गरिएको हो ।
दाबी रकम हस्तान्तरण कार्यक्रममा मोहन्याल गाउँपालिकाका अध्यक्ष श्री देवीदत्त उपाध्याय, जनप्रतिनिधि तथा गाउँपालिकाका कर्मचारी, हिमालयन लाइफ इन्स्योरेन्सका प्रदेश उपप्रमुख श्री तारा सिंह बम, मसुरिया उपशाखा प्रमुख श्रीमती माया कुमारी बम जोशी, MDRT श्री जगतबहादुर शाही लगायत समाजसेवी तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले जीवन बीमा कठिन परिस्थितिमा परिवारको आर्थिक सुरक्षाको महत्वपूर्ण आधार बन्ने उल्लेख गर्दै बीमा सचेतना विस्तार तथा दाबी भुक्तानी प्रक्रियालाई अझ सहज, छिटो, पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले देशभरका शाखा तथा उपशाखामार्फत बीमित, अभिकर्ता तथा सेवाग्राहीलाई विश्वसनीय, गुणस्तरीय तथा ग्राहकमैत्री सेवा प्रदान गर्दै आएको छ । कम्पनीले आगामी दिनमा पनि बीमाको पहुँच विस्तारसँगै छिटो, सहज र पारदर्शी दाबी भुक्तानीलाई प्राथमिकता दिँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।













