असोज १३ बागलुङ । बागलुङमा पछिल्लो तीन दिनयता आएको बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको हो भने एक जना अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पछिल्लो घटनामा ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार पहिरोले घर पुरिएपछि उनीहरूको मृत्यु भएको हो ।पछिल्लो तीन दिनयता लगातारको वर्षासँगै जिल्लाका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको छ । प्रहरीले जोखिमयुक्त क्षेत्रमा सतर्क रहन तथा सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।