असोज १४ काठमाडौँ । चीन जोड्ने प्रमुख तीन व्यापारिक नाका बन्द भएपछि दसैँलक्षित ल्याउने क्रममा रहेका लत्ताकपडा, विद्युतीय सवारी सीमापार नै रोकिएका छन् । पछिल्ला केही दिन निरन्तर परेको वर्षाका कारण चीन जोड्ने एक मात्र विकल्प बनेको मुस्ताङस्थित कोरला नाका पनि बन्द भएपछि दसैँका सामान चीनतिरै अड्किएका हुन् ।

यसअघि भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाका नै पूर्ण रूपमा बगाएपछि त्यहाँबाट हुने व्यापार ठप्प र अनिश्चित छ । चीनबाट सामान आयातका लागि रसुवागढी पछिल्लो समय प्रमुख नाका बनेको थियो ।

उक्त बाढीको पाँच दिनपछि अर्थात् भदौ १५ गते चीनले एक सन्देश पठाउँदै तातोपानी जोड्ने आफ्नोतर्फको नाकामा कार्गो जाँचपास रोकिएको जनाएको थियो । जसले चीनबाट सामान आयात गर्ने अर्को बाटो पनि बन्द हुन पुग्यो । उक्त नाका अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । यी दुवै नाका बन्द भएपछि एक मात्र विकल्प बनेको कोरला नाका र त्यहाँसम्म पुग्ने सडकमार्ग पनि वर्षाका कारण विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध बनेपछि चीनबाट सोझै सामान ल्याउने विकल्प अहिलेलाई बन्द भएको हो ।

कोरला नाकाबाट खास गरी विद्युतीय सवारी आयात हुने गरेकोमा भोटेकोशी बाढीपछि लत्ताकपडालगायतका सामान पनि कोरलाबाट नै आयात भइरहेको थियो । उक्त नाका र त्यहाँ पुग्ने सडक पनि अवरुद्ध भएपछि दसैँका लागि नयाँ लत्ताकपडा आउने सम्भावना कम भएको नेसनल बिजनेस ट्रेड सेन्टर (एनबिटिसी) का सञ्चालक गोपाल पङ्गेनी बताउनुहुन्छ । “दसैँका लागि भनेर ल्याइएका लत्ताकपडाका धेरै कन्टेनर अहिले चिनतिरै छन्,” उहाँले भन्नुभयो “अहिलेसम्म दसैँका बढीमा २५ प्रतिशत कपडा मात्रै नेपाल आएको छ ।” एनबिटिसी खुद्रा तथा थोक लत्ताकपडाका चार सयभन्दा बढी पसल रहेको व्यापारिक कम्प्लेक्स हो।

व्यापारी यस पटक दसैँमा पुरानै ‘स्टक’ कपडाले काम चलाउनुपर्ने अवस्था रहेको बताउनुहुन्छ । सञ्चालक पङ्गेनीका अनुसार कन्टेनर अभावलगायत कारणले केही दिनमै बाटो सञ्चालनमा आए पनि दसैँका सबै सामान आउन सम्भव नभएकाले पसलमा रहेका पुरानै ‘स्टक’ बाट व्यापार गर्नुपर्ने अवस्था छ ।

“यस पटक दसैँलाई नयाँभन्दा पनि केही महिनाअघि ल्याएका कपडाबाटै काम चलाउनुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो । नेपालमा कपडा मुख्य रूपमा चीनबाटै आउने भएकाले नाकाहरू बन्द हुँदा व्यापारीलाई समस्या बढेको उहाँको गुनासो छ ।

नेपालमा विद्युतीय सवारी ल्याउने मुख्य नाका जस्तै बनेको कोरला नाका बन्द भएपछि गाडी आयातकर्ता पनि समस्या परेको बताउँछन् । नेपालमा बिवाइडी ब्रान्डका चारपाङ्गे्र सवारी बिक्री गर्ने साइमेक्स इङ्कका राष्ट्रिय बिक्री प्रमुख आशुतोष गौतमका अनुसार बिवाइडीका केही गाडी भन्सार जाँचपास भए पनि धेरै गाडी चीनतर्फ नै रोकिएका छन् ।

बन्द भएको नाका र सडकको समस्या समाधान नभए पनि गाडी नेपाल आउन नसके दसैँमा समस्या पर्न सक्ने उहाँको भनाइ छ । “छ/सात दिनमै सडक सञ्चालनमा आउन सक्छ भन्ने सुनेका छौँ,” उहाँले भन्नुभयो, “धेरै समय लाग्ने अवस्था भयो भने गाडी ल्याउन समस्या हुन्छ ।” सवारी विक्रेताले दसैँलक्षित व्यापार प्रवर्धनका कार्यक्रम सञ्चालन गर्ने भएकाले यो समय धेरै गाडी आयात गर्छन् ।

छैनन् कन्टेनर

नाका बन्दले आयात नै ठप्प भएपछि समस्यामा परेका व्यापारीलाई कन्टेनरको अभाव उत्तिकै अप्ठ्यारो बनेको छ । रसुवाको बाढीका कारण तीन सयभन्दा बढी कन्टेनर बगाएपछि चीनबाट सामान ल्याउने परिवहनकै समस्या रहेको एनबिटिसीका सञ्चालक पङ्गेनीले बताउनुभयो ।

“रसुवागढीमा आएका सामान कोरला पु¥याउने र कोरलाबाट काठमाडौँ ल्याउने कन्टेनरकै अभाव हुँदा सामान पनि ढिलो आइपुग्ने अवस्था छ,” उहाँले भन्नुभयो, “अर्कातिर बाढीमा धेरै कन्टेनर चालकको समेत ज्यान गएकाले चालककै अभाव पनि उत्तिकै छ ।” चार गुणा बढी कन्टेनर भाडा तिरेर पनि कन्टेनर पाउने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो ।

कोरला नाकामा सामान भण्डारणका लागि ‘वेयर हाउस’ को समेत अभाव भएकाले कन्टेनरबाट ल्याएका सामान त्यहाँ केही समय राखेर काठमाडौँ ल्याउने अवस्था पनि नभएको उहाँले बताउनुभयो । गोरखापत्र