काठमाडौं । संयुक्त राष्ट्रसंघले रवान्डा समर्थित विद्रोहीहरूले गत महिना कंगोमा ३०० भन्दा बढी नागरिकको हत्या गरेको बताएको छ ।

राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर ट्रुकले रवान्डा समर्थित विद्रोहीहरूले गत महिना कंगोमा ३०० भन्दा बढी नागरिकको हत्या गरेको दाबी गरेका हुन् । उनका अनुसार बुधबार ४८ महिला र १९ बालबालिकासहित रवान्डा समर्थित एम २३ विद्रोहीहरूले पूर्वी कंगोमा ज्यान लिएका थिए ।

यो समूहले गत महिना कम्तीमा ३१९ जनाको हत्या गरेको ट्रुकले बताएका छन् ।  सन् २०२२ मा एम २३ विद्रोही पुनः उदय भएपछिका आक्रमणहरूमध्ये रेकर्ड भएको सबैभन्दा ठूलो हाताहातीको संख्यामध्ये यो एक भएको अलजजिराले जनाएको छ ।

ट्रुकले एक वक्तव्यमार्फत रवान्डा रक्षा बलका सदस्यहरूले समर्थन गरेका विद्रोहीहरूले जुलाई ९ देखि २१ सम्म देशको उत्तरी किभु प्रान्तको रुतसुरू क्षेत्रका चार गाउँहरूलाई निशाना बनाएको बताए ।

एम २३ ले सन् २०२१ मा पुनः उदय भएपछि कंगोको खनिजले समृद्ध पूर्वी क्षेत्र रवान्डाको समर्थनमा डीआरसीको सेनाबाट कब्जा गरेको छ । यसले तीन दशकदेखि द्वन्द्वग्रस्त क्षेत्रमा मानवीय संकटलाई झन् बढाएको बताइएको छ ।