रोम । इरान र संयुक्त राज्य अमेरिकाबीच तेहरानको आणविक कार्यक्रमसम्बन्धी दोस्रो चरणको उच्चस्तरीय वार्ता शनिबार इटालीको राजधानी रोममा सुरु हुँदै छ। एक साताअघि मस्कटमा सम्पन्न पहिलो चरणको संवादलाई दुवै पक्षले सकारात्मक र रचनात्मक भएको बताएका थिए।

CP-HOSPITAL

इरानी परराष्ट्रमन्त्री अब्बास अराघ्ची शनिबार बिहान रोम पुगेका छन्। उनी अमेरिकी मध्यपूर्वका विशेष दूत स्टीव विटकोफसँग वार्तामा सहभागी भएका हुन्। वार्ता ओमानको मध्यस्थतामा भइरहेको छ।

सन् २०१८ मा अमेरिका आणविक सम्झौताबाट बाहिरिएपछि यो पहिलोपटक यति उच्चस्तरमा संवाद भइरहेको हो। सम्झौताअनुसार इरानले आणविक कार्यक्रममा केही सीमाहरू स्वीकृत गरेको थियो, जसको सट्टामा उसमाथि लागेका अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाइएका थिए।

इरानले बारम्बार आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र नागरिक प्रयोजनका लागि मात्र भएको स्पष्ट पार्दै आएको छ। अमेरिकासहित केही पश्चिमी राष्ट्रहरूले इरान आणविक हतियार बनाउन सक्ने आशंका व्यक्त गर्दै आएका छन्।

अराघ्चीले पहिलो चरणको वार्तामा अमेरिकी पक्षबाट केही गम्भीरता देखिएको बताए। यद्यपि, उनले अमेरिकाको उद्देश्यप्रति अझै केही आशंका रहेको उल्लेख गरे।

संयुक्त राष्ट्रसङ्घीय आणविक निरीक्षण संस्था (आएइए) का महानिर्देशक राफाएल ग्रोसीले हालैको एक अन्तर्वार्तामा अमेरिका र इरान ‘एक अत्यन्तै संवेदनशील मोड’ मा पुगेको बताएका थिए।

इरानले स्पष्ट रूपमा वार्ता केवल आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा सीमित हुनुपर्ने बताएका छन्। इरानी अधिकारीहरूले युरेनियम प्रशोधनको अधिकारलाई ‘असम्झौतायोग्य’ भनेका छन् र मिसाइल कार्यक्रम वा अन्य सुरक्षा मामिलामा कुनै पनि छलफल नगर्ने अडान दोहोर्‍याएका छन्।

दुवै पक्षबीचको यो वार्ता क्षेत्रीय शान्ति, स्थायित्व र अन्तर्राष्ट्रिय विश्वास निर्माणका दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको छ। रासस