थारु समुदायको महान पर्व माघीको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका-६ सुगर खालमा सोमबारबाट माघी मेला सुरु भएको छ।

राम जानकी सेवा समाजको आयोजनामा बर्दगोरिया गाउँ पालिका वडा न ६ का अध्यक्षको सभाअध्यक्षतामा भएको कार्यक्रममा मेलाको उद्घाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले गरे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी, वडा नम्बर-१ देखि ५ सम्म का वडा अध्यक्ष ,बुद्धिजिबि लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन सत्रमा बोल्ने अतिथिहरूले कला संस्कृतिको पहिचान, पर्यटन प्रवर्द्धन तथा थारु परिकारलाई प्रवर्द्धन गर्न मेलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा जोड दिए । यस वर्षबाट सुरु गरिएको मेलालाई नियमित गर्न भन्दै गाउँ सरकार सहयोगका लागि तयार रहेको उल्लेख गरे ।

पहिलो पटक भव्य रुपमा संचालन हुन लागेको मेलामा बोटिङ्ग गर्न पाइने भएको छ । मेलालाई थप आकर्षक बनाउन तथा मेलामा आउने दर्शनार्थी तथा अवलोकनकर्ताहरुको मागलाई मध्यनजर गरि बोटिङ्गको व्यवस्थापन गरिएको छ ।

मेलामा चर्चित थारु महालोक गायक मनिराम करिया मघरिया, गायिका संगीता चौधरी , मोडेल तथा डान्सर नाइरा चौधरी , गायक तथा उद्घोषक खुशी रत्गैया लागाएत कलाकारहरुले प्रस्तुती गरेका थिए । 

सोमबारबाट सुरु भएको मेला माघ ६ गते सम्म चल्ने छ । मेलामा स्थानीय कला, संस्कृति प्रदर्शनी सँगै छुट्टै थारु गाउँ समेत राखिएको छ । साथै थारु परिकारको स्वाद लिन मेलामा सहभागिताका लागि सबैलाई अनुरोध गरिएको छ ।