काठमाडौँ । उत्तराखण्डमा काम गर्न गएका धादिङका ४ जना सम्पर्कविहीन भएका छन् । ज्वालामुखी गाउँपालिका-२, काफलपानीका सिंहबहादुर तामाङ, लालबहादुर तामाङ, छोलामा तामाङ र फेलामा तामाङ सम्पर्कमा नरहेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।



प्रजिअ घिमिरेका अनुसार उनीहरू उत्तरकाशीको धराली आसपासमा काम गर्न पुगेका थिए । गृहमन्त्रालयमार्फत नयाँदिल्लीस्थित दूतावासलाई अनुरोध गरिएको उनले बताए । वडाध्यक्ष राजु लोप्पाले सम्पर्कविहीन भएका भनिएकामध्ये केहीले परिवारलाई बाढीपहिरोको भिडियो पनि पठाएको भन्ने आफूले सुनेको बताए ।



त्यस्तै वडा सदस्य धनबहादुर तामाङले काम गर्न गएका व्यक्तिहरू बाढीपहिरो जानुभन्दा केही समयअघिसम्म परिवारको सम्पर्कमा रहेको बताए । ‘लालबहादुरले परिवारका सदस्यलाई भिडियो पठाएको भन्ने सुनेको छु । उहाँहरूसँग फोन सम्पर्क भएको छैन । त्यहीँका स्थानीय बासिन्दाहरूलाई पनि फोन लागेको छैन । बाढीपहिरोले फोन नलाग्ने भएर हो कि,’ उनले भने ।



मंगलबार भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लामा पर्ने धराली बजार ‘क्लाउड बर्स्ट’ (आरिघोप्टे वर्षा) पछि आएको बाढीले तहसनहस भएको छ । खिरगंगा नदीमा मंगलबार दिउँसो १:४५ बजेतिर आएको बाढीले धराली बजारका दर्जनौं घर र होटल बगाएको छ । बाढीपहिरो गएको क्षेत्रमा काम गर्दै आएका जाजरकोट, बर्दिया, जुम्ला र रुकुम गरी १८ जना सम्पर्कमा रहेका छैनन् ।


