काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गतकाे एशिया स्वास्थ्य फोरम सन् २०२५ मा सम्बोधन गर्नुभएको छ । फोरमको पूर्ण सत्रमा नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य विषयमा सम्बोधन गर्दै उहाँले नेपालले डिजिटल स्वास्थ्यमा रुपान्तरण गर्ने रणनीतिअन्तर्गत सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो ।



नागरिकको स्वास्थ्य पहुँच वृद्धिसँगै गुणस्तरमा सुधार ल्याउन काम भइरहेको भन्दै उहाँले एशियाली देशहरुसँग सहकार्यका लागि तयार रहेको उल्लेख गर्नुभयो । मन्त्री पौडेलले स्वास्थ्यको पहुँचबाहिर रहेका नागरिकलाई ध्यानमा राखेर काम गरिरहेको समेत बताउनुभयो ।



उहाँले फोरमअन्तर्गतकाे जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभावसम्बन्धी सत्रमा समेत सम्बोधन गर्दै जलवायु परिवर्तनको असरका कारण प्रभावित नागरिकको विषयलाई उजागर गर्न जलवायु परिवर्तन र स्वास्थ्यबारे सम्मेलन गर्न लागिएको घोषणा गर्नुभयो ।



उहाँले जलवायु उत्पन्न स्वास्थ्य सङ्कटको सामना गर्न तयारीका लागि नेपालको प्रयासबारे जानकारी गराउँदै यसलाई साझा मुद्दा बनाउन नेपालले पहल गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । चीन भ्रमणका क्रममा मन्त्री पौडेलले बेइजिङमा बसोबास गर्ने नेपाली समुदायसँग भेट समेत गर्नुभएको छ ।


