असार ६, काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोधको विषयमा भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको बताउनुभएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले यो विषयप्रति सरकार गम्भीर रहेको र भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको जानकारी गराउनुभएको महासङ्घले जनाएको छ।



चिया निर्यातमा देखिएका समस्याबारे जानकारी गराउन बिहीबार महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा एक टोली परराष्ट्र मन्त्रालय पुगेको थियो । महासङ्घको टोलीले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योगले भोग्नु परेको समस्याबारे ध्यानाकर्षण गराएको थियो ।



सो अवसरमा परराष्ट्रमन्त्री खनालले समस्याको व्यावहारिक समाधान निकाल्न पहल भइरहेको बताउनुभएको महासङ्घले जनाएको छ । “नेपालबाट चिया निर्यातमा देखिएका समस्या समाधानका लागि हामीले भारतीय अधिकारीसँग कुराकानी अगाडि बढाइसकेका छौँ,” उहाँले भन्नुभयो, “भारतीय पक्षबाट प्राप्त जानकारी अनुसार यसको छिट्टै समाधान निस्किने छ ।” उहाँले अन्य वस्तुको निर्यातमा समेत आउने यस्ता समस्याको दीर्घकालीन समाधानका लागि समेत भारतीय पक्षसँग कुरा भइरहेको जानकारी दिनुभयो ।
महासङ्घका अध्यक्ष श्रेष्ठले वार्षिक करिब १२ देखि १४ अर्ब रुपियाँ बराबरको कारोबार हुने र चियाक्षेत्र सङ्कटमा पर्दा समग्र अर्थतन्त्र र लाखौँको जीविकोपार्जनमा असर पर्ने बताउँदै जतिसक्दो छिटो समाधानका लागि मन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो । उहाँले दीर्घकालीन समाधानका लागि नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा सांसद एवं रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली र सासंद एवं उद्योग समितिका सभापति रहबर अन्सारीले यस्ता समस्याको अल्पकालीन तथा दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो ।














