वैशाख १४, धनगढी। रोगव्याधिबाट छुटकारा पाउनका लागि सिजन अनुसार विभिन्न पूजा गर्दै आएका थारू समुदायमा यतिबेला भजहर पूजा चलिरहेको छ ।



उनीहरूले सामूहिक रूपमा विभिन्न गाउँमा भजहर पूजा गरिरहेका हुन् । खास गरेर चैत, वैशाखमा यो पूजा हुने गर्छ । गहुँ भित्र्याइसकेपछि फुर्सद भएको समयमा भजहर पूजा गर्ने कार्य भइरहेको कैलारी गाउँपालिका–७, वसन्ताका पूर्वभलमनसा जिया चौधरीले बताउनुभयो ।




प्रकृतिपूजक थारू समुदायमा रोगव्याधि लाग्न नदिनका लागि भजहर पूजा गर्ने चलन छ । पूर्वभलमनसा चौधरी भन्नुहुन्छ, “बर्का भजहर वा चिरै भजहरका रूपमा भजहर पूजा हुने गरेको छ ।” खेतीपातीको कामबाट फुर्सद भएपछि गर्मी मौसममा रुखको छहारीमुनि रमाइलो गर्दै भजहर पूजा गर्ने गरिएको कञ्चनपुरको बेलौरी नगरपालिकास्थित टेढुवाका विक्रम बखरियाले बताउनुभयो ।
यस पूजामा गाउँका गुरुवाले गाउँघरमा रोगव्याधि नआओस, बालबच्चा सुखीखुसी रहून्, घरपालुवा जनावर पनि रोगव्याधिमुक्त होऊन्, खेतीपातीमा किराको प्रकोप नहोस् भनेर पूजा गर्ने चलन रहेको गुरुवा मङ्गरु चौधरीको भनाइ छ । स्थानीयका अनुसार चिरै भजहर एकदिन र बर्का भजहर पूजा एक हप्तासम्मको हुने गरेको छ । भजहर पूजा अवधिभरि गाउँभरिको खाना घरभन्दा बाहिर भजहर पूजा स्थलमै पाक्ने गर्दछ । सबैको भान्सामा पाकेको परिकार सङ्कलन गरेर पूजा गर्ने गरिन्छ । गुरुवाले पूजा गरिसकेपछि खानपान गरेर महिला छुर, कबड्डी, कुइली डिडीलगायतका पौराणिक खेल खेलेर रमाउने चलन रहेको छ ।
यसै गरी कतै कतै बाटो छेकेर बटुवाबाट स्वैच्छिक दक्षिणा पनि लिने गरेको पाइन्छ । थारू समुदायमा वर्षभरिमा विभिन्न पूजा हुने गर्दछ । खेतीपाती नबिग्रियोस् भनेर हरेरी पूजा गरिन्छ । त्यस्तै लवाङ्गी पूजा गरेर नयाँ धानको भात खाने चलन रहेको छ । असारी वा ढुरिया पूजा गरेपछि खेतीपातीको काम सुरु गर्ने गरेको कैलारी गाउँपालिका–७ का खेमराज चौधरीले बताउनुभयो ।











