भदौं २६ कैलाली । जिल्लाको बर्दगोरिया गाउँपालिका २ स्थित बौनियाँ गाउँमा निर्माण सम्पन्न भएको धार्मिक आस्था र सामाजिक एकताको केन्द्रका रूपमा निर्माण गरिएको केदारेश्वर महादेव बाबा मन्दिर तथा सामुदायिक भवनको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएकोे छ ।



बर्दगोरिया गाउँपालिका २ नं. वडा अध्यक्ष गोविन्द बिकको सभापतित्वमा भएको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माननिय रामेश्वर चौधरीले मन्दिर तथा सामुदायिक भवनको रिवन काटेर औपचारिक उद्घाटन गरे । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, धार्मिक व्यक्तित्व, बड्घर, भल्मन्सा तथा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो ।




उद्घाटन समारोहमा मन्दिर तथा सामुदायिक भवनका लागि आवश्यक १ कट्ठा जग्गा दानगर्ने जग्गा दाता द्धय डम्मर बहादुर चौधरी र श्रीमति फुलरानी देवी थारुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै जग्गादाता चौधरीले यो पुण्य कामको लागि जग्गा दान गर्न पाउँदा आफु निकै खुसी भएको बताए । यस ठाउँमा मन्दिर निर्माणले यहाँका स्थानीय क्षेत्रमा धार्मिक सामाजिक सद्भाव, मुल्यमान्यता बढ्ने र सामुदायिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए ।
स्थानीय समुदायको सहभागिता र प्रदेश तथा स्थानिय सरकारको सहयोगमा निर्माण भएको उक्त मन्दिर तथा भवनलाई आगामी दिनमा धार्मिक तथा सामाजिक गतिविधिको साझा केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा वक्ताहरूले मन्दिरले धार्मिक तथा सांस्कृतिक संरक्षणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सामुदायिक भवनले यहाँका स्थानीय समुदायका सम्पुर्ण सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधि सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने र सामाजिक काममा सहजता हुने बताएका थिए ।
कार्यक्रमको सञ्चालन थारु चलचित्र जगतका प्रख्यात कलाकार तथा स्थानिय जग्गादाताका छोरा समेत रहेका बिर चौधरीले गरेका थिए ।
















