वैशाख ११, काठमाण्डौ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया स्थगित गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सर्वसम्मत रूपमा नेता चयन गर्न भन्दै निर्देशन दिएपछि आजका लागि तय भएकाे प्रक्रिया स्थगित भएकाे हाे ।



पार्टीकाे केन्द्रीय कार्यसम्पादन समितिको निर्णय र निर्देशनअनुसार संसदीय दलकाे नेता चयन प्रक्रिया स्थगित गरेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो ।




रसाइलीले दलको नेताका लागि भाेलि बेलुकासम्म सर्वसम्मत रूपमा उम्मेदवार तय गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा निर्वाचन समितिको समेत सहभागिता रहने गरी कार्यदल गठन गरेकाे बताउनुभयाे ।
पार्टीको बृहत्तर हित, लोकतन्त्र, संविधान र पार्टीमाथि आएका चुनौतीहरूको सामना गर्न पनि संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्नुपर्ने भएकाले अहिलेलाई निर्वाचन प्रक्रिया स्थगित गरेकाे कांग्रेस संसदीय दलले जनाएको छ ।
सभापति गगनकुमार थापाले सांसद मोहन आचार्य, उपसभापति शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई दलको नेताका रूपमा अघि सार्नुभएको छ भने अर्का समानुपातिक सांसद अर्जुननरसिंह केसीले पनि सहमतिमा नभए आफू संसदीय दलको नेतामा उम्मेदवारी दिने जानकारी नेताहरूलाई गराएपछि कांग्रेसमा दलको नेता चयन प्रक्रिया पेचिलो बन्न गएको हो ।











