काठमाडौ । रास्वपा सभापति रवि लामिछानेविरुद्ध चलेका मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयउपर परेको रिटमाथि सोमबार सुनुवाइ हुँदै छ । आइतबार ‘हेर्दाहेर्दै’मा राखिएको रिटमा सोमबार पनि सुनुवाइ हुने भएको हो ।



महान्यायाधिवक्ता कार्यालयले सभापति रविरुद्ध विभिन्न अदालतमा चलेकामध्ये संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने र सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामात्रै चलाउने निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आयुष बडाल र युवराज पौडेल ‘सफल’ले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
सोही रिटमाथि आइतबार सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा मुद्दाको सुनवाइ भएको थियो । सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।
गत पुसर ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले गरेको सभापति रविविरुद्धको अभियोग फिर्ता लिने निर्णयविरुद्ध गत माघ ४ गते रिट परेको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले सभापति रविविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णय गरेकी थिइन् ।















