कैलाली । जिल्लाको धनगढीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को चुनावी सभामा समाचार संकलनका लागि पुगेका पत्रकारहरूमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ । महासंघको सुदूरपश्चिम प्रदेश समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर भर्त्सना गरेको हो।



राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको आमसभामा समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरूलाई ‘पार्टीको पास’ नभएको भन्दै रोक लगाइएको थियो। सो क्रममा रास्वपाका कार्यकर्ताहरूले पत्रकारहरूलाई धक्का(मुक्का समेत गरेको महासंघले जनाएको छ।
“रास्वपा कार्यकर्ताहरूको यस्तो कार्य नेपालको संविधानको प्रस्तावनामै उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको अधिकारको प्रतिकूल छ । यस किसिमको निन्दनीय कार्यले लोकतन्त्रको आधारभूत मूल्य र मान्यतामाथि प्रहार गरेको महासंघको ठहर छ ।” महासंघका महासचिव शिवराज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
चुनावी कार्यक्रमहरूमा पत्रकारहरूलाई निर्वाध रूपमा समाचार संकलन गर्ने वातावरण निर्माण गर्न तथा पत्रकारहरूलाई कुनै पनि बहानामा अवरोध र दुर्व्यवहार नगर्न महासंघले सबै राजनीतिक दलहरूलाई आग्रह समेत गरेको छ ।
यस्तै महासंघले प्रदेशभरका सञ्चारकर्मीहरूलाई पनि पत्रकार आचार संहिता र निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ। कुनै पनि पार्टी वा उम्मेदवारको एकपक्षीय प्रचारमा नलाग्न र व्यावसायिक धर्म निभाउन महासंघले सम्पूर्ण सञ्चारकर्मीहरूलाई विशेष आग्रह गरेको छ।
प्रेस विज्ञप्ति :
















