बौनिया। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको कोइलीभुरुवा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति सेवाको उद्घाटन गरिएको छ । शुक्रबार पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले प्रसुती सेवा केन्द्रको उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कुँवरले स्वास्थ्यनै सबैभन्दा ठुलो कुरा भएको बताउदै घरदैलोमा नागरिकलाई अत्यावश्यक सेवा पुर्याउनु आफ्नो कर्तव्य भएको बताए । उनले नागरिकका समस्याहरु आफ्ना समस्या भएको बताउदै कुनैपनि नागरिकलाई आधारभूत सेवा सुबिधा र अधिकारबाट बञ्चित हुन नदिने बताए ।

पालिका अध्यक्ष कुँवरले समाजमा पिछडिएको नागरिकहरुलाई स्थानीय सरकार आफ्नो अभिभावक भएको प्रत्याभूति गराउन आफुहरु प्रतिबद्धताका साथ लागि परेको बताए ।

उनले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पालिकामा १५ शैया अस्पतालसहित हरेक वडाबाट आधारभुत स्वास्थ्य इकाइहरु संचालन गरिएको भन्दै प्रसुती केन्द्र रहेका स्वास्थ्य इकाईला लागि अब छिटै एम्बुलेन्स उपलब्ध गराउने बताए ।

अध्यक्ष कुँवरले बर्थिङ सेन्टरले सुरक्षितरुपमा सुत्केरी गराउन सहयोग पुग्ने बताउदै अब यसको दिगो विकास र व्यवस्थापनका लागि कुनैपनि कुराको कमि हुन नदिने बताए । अध्यक्ष कुँवरले प्रसुति भवनको सही सदुपयोग गर्दै दिगोरुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरिले प्रसुति सेवा केन्द्र संचालनमा आएसङ्गै अब कुनैपनि सुत्केरी महिलाले प्रसब पिडाबाट ज्यान गुमाउनु नपर्ने बताए । उनले जनताको विकास र समृद्धिका लागि स्थानीय सरकारले स्वास्थ्य ,शिक्षा ,खानेपानी र भुमी व्यवस्थापनको काम प्रमुखताका साथ अगाडि बढाइएको बताए ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ,विभिन्न संघसस्था, भल्मन्सालगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन वडा सचिब शेरबहादुर बडायकले गरेका थिए ।