काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको सडक सुरक्षा र सार्वजनिक यातायात प्रणालीमा आमूल परिवर्तनको आवश्यकता औंल्याएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै थापाले नेपालमा सडक दुर्घटनाका कारण दैनिक औसत सात जनाले ज्यान गुमाइरहेको र यसबाट कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशतको क्षति भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले सडक दुर्घटनालाई केवल एउटा समाचारको रूपमा मात्र नहेरी यसलाई गम्भीर संरचनागत समस्याका रूपमा लिएर समाधान गर्नुपर्नेमा जोड दिए ।

थापाले ३२ वर्ष पुराना यातायात ऐन र नियमहरूलाई विस्थापित गरी समयसापेक्ष मोडल एक्ट निर्माण गर्नुपर्ने र एक शक्तिशाली ‘यातायात प्राधिकरण’ स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन्। यो प्राधिकरणले वैज्ञानिक ढंगले रुट निर्धारण गर्ने, सार्वजनिक-निजी साझेदारीमा लगानी जुटाउने र प्रविधिको प्रयोग गरी यातायात क्षेत्रलाई व्यवस्थित बनाउने उनको योजना छ।

उनले काठमाडौँ लगायतका सहरहरूलाई बस्न योग्य बनाउन निजी सवारीको सट्टा सार्वजनिक यातायातलाई भरपर्दो र सुरक्षित बनाउनुपर्ने धारणा राखेका छन् ।
सहरको डिजाइन गाडीमुखी नभई नागरिकमुखी हुनुपर्ने भन्दै थापाले सडकमा पहिलो अधिकार पैदलयात्री, ज्येष्ठ नागरिक र बालबालिकाको हुनुपर्ने बताएका छन् । सडक सुरक्षाका लागि स्वास्थ्य, शिक्षा र स्थानीय सरकारको एकीकृत सहकार्य हुनुपर्ने र यातायात क्षेत्रमा कार्यरत श्रमिकहरूको सामाजिक सुरक्षा र मर्यादित पेसा सुनिश्चित गर्नुपर्ने उनको तर्क छ।

यात्रालाई सास्ती नभई नागरिकको अधिकार र आनन्दको विषय बनाउने प्रतिबद्धताका साथ आफूहरू स्पष्ट कार्ययोजनासहित अघि बढेको थापाले उल्लेख गरेका छन् ।