काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा हुने प्रतिनिधि सभा चुनाव केवल जनप्रतिनिधि पठाउने प्रक्रिया मात्र नभई नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बनाउनुपर्ने बताउनुभएको छ ।



राष्ट्रिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधि सभा सदस्य चुनावका लागि उम्मेदवारको मनोनयन प्रक्रिया सम्पन्न भइसकेको उल्लेख गर्दै राज्यका स्रोत तथा साधन चुनाव केन्द्रित गरिएको बताउनुभयो । उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत पारिएको बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले नवयुवा आन्दोलनका क्रममा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको जानकारी समेत सभालाई गराउनुभयो । सार्वजनिक निकायका कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाउँदै भ्रष्टाचार न्युनिकरणमा पूर्ण प्रतिवद्धताका साथ सरकार अघि बढिरहेको उहाँको दाबी छ ।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचार न्युनिकरणसम्बन्धी रणनीतिक योजना तथा प्रविधिमा आधारित सुशासनको मार्गचित्र निर्माणको तयारी अन्तिम चरणमा पुगेको जानकारी समेत सभालाई गराउनुभयो ।












