काठमाण्डाै । सरकारले पर्सामा हैजाविरुद्धको खोप अभियान शुरू गरेको छ । आज पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई खोप खुवाएर अभियानको थालनी गरिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार बारामा भोलिदेखि खोप अभियान शुरू हुनेछ ।



पर्साको १४ वटै पालिका र बाराको जितपुरसिमरा र कलैया उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिका गरी कुल २० वटा पालिकामा खोप अभियान सञ्चालन हुनेछ ।



हैजा प्रभावित क्षेत्रमा एक वर्षमाथिका सबैलाई खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको भदौ ६ गते पहिलो पटक वीरगञ्जको मुर्लीटोलका एक जना बिरामीमा हैजा सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि पर्साका विभिन्न पालिकासहित बारामा समेत हैजाका बिरामी भेटिएका हुन् ।



बारा–पर्साका लागि १० लाख १८ हजार १ सय खेप खाेप आएको छ । एक वर्ष उमेरमाथिका १० लाख १८ हजार जनालाई खोप खुवाउने सरकारको लक्ष्य छ । मुखबाट खुवाइने यो खोप अभियान कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।



स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत रहेको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतमले हैजाविरुद्ध खोप लिन पाउनु एउटा अवसर भएकोले सबैले खोप लिनुपर्ने बताउनुभयो । यो खोप अर्को वर्ष आउन सक्ने महामारीलाई रोक्न प्रभावकारी हुनेछ । हैजाविरुद्धको खोपले ६ महिनासम्म हैजा लाग्न नदिने र पछिसम्म काम गर्ने गरी प्रतिरोधी क्षमताको विकास गर्ने उहाँको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ), युनिसेफ, रेडक्रस लगायतको समन्वयमा बनेको अन्तर्राष्ट्रिय समन्वय समूह (आईसीजी) ले खोप उपलब्ध गराएको हो ।