काठमाण्डु । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका छन्।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गरी नेता पौडेलले भ्रष्टाचारविरुद्ध स्पष्ट नीति अभावमा पार्टी रक्षात्मक अवस्थामा पुगेको स्वीकार गर्दै नयाँ सरकारलाई प्रभावकारी काम गर्न ४ वटा सुझाव दिएका छन्।

उनले २०४६ सालपछि प्रशासनिक र राजनीतिक नेतृत्वमा रहेकाहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन, नागरिक अपेक्षाअनुरूप संविधान संशोधन आयोग, निष्पक्ष निर्वाचनको सुनिश्चितता र आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिको क्षति गर्नेमाथि अनुसन्धान तथा कारबाही गर्न सुझाव दिएका हुन् ।

उनले पार्टीका नेता–कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै नेपाली कांग्रेस सुशासन र भ्रष्टाचारविरुद्ध थप स्पष्ट र धारिलो भएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन। ‘हामी अब विचारमा स्पष्टता र सुशासनको पक्षमा अझ सशक्त भएर प्रस्तुत हुनेछौँ,’ पौडेलले उल्लेख गरेका छन्।

यस्तो छ पौडेलको सन्देश

अबको हाम्रो अभिभारा

१) २०४६ यता प्रशासनिक तथा राजनीतिक नेतृत्वमा रहेकाहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग

२) नागरिकको अपेक्षा अनुरूपको संविधान संशोधन आयोग

३) निष्पक्ष निर्वाचन

४) आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्तिको क्षति गर्नेमाथि अनुसन्धान र कारबाही

साथै, अब हामी नेपाली कांग्रेसको विचारमा स्पष्टतासँगै सुशासन अनि भ्रष्टाचारविरुद्ध अझ धारिलो भएर प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गर्दछौँ ।