काठमाण्डौ । पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ ।

पहिरो पन्छाएपछि साना–ठूला गाडी सञ्चालनमा आएको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाण्डौले जनाएको छ । नेपाल र चीन जोड्ने तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा यो खण्ड अवरुद्ध भएको थियो ।

पहिरोका कारण माथिल्लो भागमा रहेको मानव बस्ती जोखिममा रहेको हुँदा कठिनाइ भएको थियो । सडक डिभिजन चरिकोटबाट खटिएको यन्त्र–उपकरणसहितको प्राविधिक टोली पहिरो पन्छाउन खटिएको थियो । पहिरो नियन्त्रणको दिगो समाधानका लागि विज्ञ सम्मिलित टोलीले अध्ययन गरिरहेको पनि सडक विभागले जनाएको छ ।