काठमाण्डौ । भारतीय विदेश सचिव विक्रम मिश्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन काठमाडौं आइपुगेका छन्। भारतीय विदेश सचिव मिश्री दुई दिने औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन्।

आज (आइतबार) बिहान करिब ९ बजे मिश्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले स्वागत गरेका थिए। मिश्री परराष्ट्र मन्त्रालयका सचिव राईको निमन्त्रणामा नेपाल आएका हुन्।

विदेश सचिव मिश्रीले दुई दिने काठमाडौं बसाइँका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र परराष्ट्र मन्त्री आरजु राणा देउवासँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

सोही क्रममा मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

प्रधानमन्त्री ओली भारत भ्रमणमा जानुअघि विदेश सचिव मिश्री नेपाल आएका हुन्। प्रधानमन्त्री ओली भदौ ३१ गते भारत गएर असोज १ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री ओलीले बिहारको बोधगयामा भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ।