मध्यविन्दु । नवलपुरको गैँडाकोट नगरपालिका –१८ ले सामाजिक सुरक्षा भत्ता नवीकरणलाई प्रभावकारी र सहज बनाउन टोलमै पुगेर सेवा प्रदान गर्ने अभियान थालनी गरेको छ ।

वडा अध्यक्ष तिलबहादुर चितौरे र वडा सदस्यहरू समेतको टोली वडाको विकट र दुर्गम बस्तीहरूमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको काममा खटिएका छन् ।

गैँडाकोट –१८ मा दुर्गम र विकट बस्तीहरू रहेको कारण वृद्धवृद्धा र अपाङ्गता भएका वडावासीलाई वडा कार्यालयसम्म आउन घन्टौँ लाग्ने भएकाले सेवा पहुँचमा सहजता दिलाउन यसरी टोलमै पुगेर सेवा प्रदान गर्ने कार्य गरिएको वडा अध्यक्ष चितौरेले बताउनुभयो ।

‘वडाका विकट बस्तीमा बसोबास गर्ने वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूलाई वडा कार्यालयसम्म आइ नवीकरण गर्न समस्या हुने गरेको थियो । उहाँहरूको सहजताका लागि हामीले टोली नै खटिएर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने व्यवस्था गरेका हौँ’ वडा अध्यक्ष चितौरेले भन्नुभयो ।

वडा समितिको निर्णयअनुसार अभियान अन्तर्गत इन्टरनेटको पहुँच भएका विद्यालयहरूलाई केन्द्र बनाइ सामाजिक सुरक्षा भत्ता नवीकरण सुरु गरिएको वडाध्यक्ष चितौरे बताउनुभयो । घरदैलोमै पुगेर सेवा दिने अभ्यासले स्थानीय तहको विश्वसनीयता बढ्ने भन्दै अध्यक्ष चितौरेले यस कार्यलाई निरन्तरता दिने बताउनुभएको छ ।

टोलीले प्राविधिक सुविधा भएका विद्यालयहरूमार्फत डिजिटल प्रणालीमा नै विवरण अद्यावधिक गरिरहेको वडा सचिव रामु पौडेलले जानकारी दिनुभयो । दुर्गम क्षेत्रका बासिन्दालाई सहज हुनेगरी योजनाबद्ध रूपमा विभिन्न टोलहरूमा अभियान विस्तार गरिने उहाँले बताउनुभयो । वडाबाट भएको यस कार्यले सहज भएको  भन्दै स्थानीय बासिन्दा पनि खुसी भएका छन् ।