मुस्ताङ । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडक मङ्गलबारदेखि रातको समयमा बन्द हुने भएको छ । जिल्ला सुरक्षा समिति मुस्ताङको बैठकले आजदेखि लागू हुने गरी साँझ ६ देखि बिहान ५ बजेसम्म मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकखण्ड रातको समयमा अर्को सूचना जारी नहुदाँसम्म बन्द गर्ने निर्णय गरेको हो ।



मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले रातको समयमा बाढीपहिरोका कारण जनधनको क्षतिको उच्च जोखिमलाई मध्यनजर गरी ७६ किलोमिटरको बेनी–जामसोम सडकखण्ड बन्द गरिएको बताउनुभयो । प्रजिअ भुषालले भन्नुभयो, ‘‘रातको समयमा यात्रा गर्दा धेरै जोखिम भयो, म्याग्दी र मुस्ताङ खण्डमा तोकिएको समयमा सडक बन्द हुन्छ ।’’



मुस्ताङको थासाङ गाउँपालिका–४, घोप्टेभीर, म्याग्दीसँग सिमाना जोडिएको काभ्रेभीर क्षेत्रमा सामान्य झरी पर्दा समेत सडकमाथिबाट खसेको सुख्खा पहिरो खस्ने गरेको छ ।



सडकमा भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावटकै कारण बाढीपहिरोले अवरुद्ध हुने गरेको छ । सबैभन्दा जोखिमपूर्ण म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकाको सिमा क्षेत्र घाँसा आसपासको क्षेत्र मानिन्छ । बर्खाको समयमा यात्रुले ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
जिल्ला सुरक्षा समिति म्याग्दीसँग समेत समन्वय गरी म्याग्दीबाट समेत रातको समयमा सवारीसाधन मुस्ताङ नपठाउने सहमति भएको प्रजिअ भुषालले बताउनुभयो । बेनीबाट जोमसोम जाने सवारीसाधनलाई साँझ धार्मिकस्थल गलेश्वर क्षेत्रमा र मुस्ताङबाट बेनी आउने सवारीसाधनलाई घाँसामा रोकिने छ । दुईतर्फबाट बिहान ५ बजेपछि मात्र सवारीसाधन छुट्ने छन् ।
मुस्ताङ जाने सवारीसाधन साँझ ५ः३० बजेभित्र मुस्ताङको सिमानामा पुगिसक्नुपर्ने छ भने मुस्ताङबाट बेनी आउने सवारीसाधन बेलुकी ६ बजेभन्दाअघि नै छुट्नुपर्नेछ । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकक आयोजनाको सडक बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा दर्जनको हाराहारीमा साना ठुला पहिरा छन् ।