काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आइतबार बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किएको दोस्रो दिनमै भएको भेटमा समसामयिक राजनीतिक विषयसँगै सरकारका मन्त्री फेरबदलबारे पनि कुराकानी भएको बुझिएको छ।



भेटमा एमाले उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी थिए।



स्रोतका अनुसार प्रधानमन्त्री ओली केही समयदेखि मन्त्री हेरफेरको तयारीमा छन्। एमालेका भूमिमन्त्री बलराम अधिकारी र उद्योगमन्त्री दामोदर भण्डारी ‘टार्गेट’ मा रहेका छन् भने लोसपा, जसपाका मन्त्रीसँगै आफ्नै पार्टीका केही मन्त्री पनि फेरबदल गर्ने योजना छ।



कांग्रेस पक्षबाट ऊर्जा मन्त्री दीपक खड्का मुख्य विवादमा छन्। उनको कार्यशैली र नतिजाप्रति असन्तुष्ट आवाज पार्टीभित्र बलियो बन्दै गएको छ। नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको कामलाई लिएर प्रधानमन्त्री र देउवा देउवा सन्तुष्ट नरहेको बताइन्छ । गृहमन्त्री लेखक, कृषिमन्त्री रामनाथ अधिकारी र कानूनमन्त्री अजय चौरसियाविरुद्ध पनि गुनासो बढेको बताइन्छ।
बैठकमा प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्त गर्न प्रस्ताव गरे पनि देउवाले तत्काल सहमति नजनाएको स्रोतको दाबी छ। तर, दुबै दलभित्र कार्यसम्पादन कमजोर र विवादमा तानिएका मन्त्रीलाई हटाउन दबाब बढ्दो छ।


