बर्दिया । चार दिनदेखि खोजी कार्य जारी राखेपछि भारत उत्तराखण्ड राज्यको पौडी गढवालस्थित सिन्धु खोला नजिक बाकुडामा शनिबार एक जनाको हात फेला परेको छ । हात कसको हो भन्ने पहिचान हुन सकेको छैन ।

पौडी गडवालको थलिसेन ब्लकको बाकुडा नजिक शनिबार एउटा हात मात्र फेला परेका त्यहाँस्थित बर्दिया मधुवनका चित्रबहादुर पौडेलले बताए । ‘करिब १५ किलोमिटर पैदल हिँडेर खोजी कार्य जारी राख्दा हात मात्रै फेला पर्‍यो,’ उनले भने । उनका अनुसार करिब १५ जना नेपाली मजदुरसहितका आफन्त विकट पहाडी खोलामा खोजी गरिरहेका छन् ।

हात भेटिएपछि भारतीय सुरक्षाकर्मी घटनास्थल पुगेका छन् । बिहानैदेखि साझसम्म खोजी कार्य भइरहेको पौडेलले बताए । ‘कतिपयका आफन्त अब बेपत्ता फेला नपर्ने भन्दै घर फर्किने तयारीमा छन्, भारतीय सुरक्षाकर्मी पनि उद्धार कार्यमा खटिएका छन्,’ उनले भने ।

बाढी पहिरोले यातायात सेवा प्रभावित छ । घटनास्थलबाट १५ किमी दूरीबाट सार्वजनिक सवारी साधन चल्ने गरेका छन् । १५ किमी पहाडी भूभाग हुँदै पैदल आउनुपर्ने बाध्यता रहेको पौडेलले बताए ।

बुधबार भारतको उत्तराखण्ड राज्यको पौडी गढवालको बाकुडामा बाढी पहिरोले पाँच जना नेपाली बेपत्ता भएका थिए । मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ का एकै परिवारका तीन र सोही पालिका–८ गाउँ नम्बर ८ का एक जना रहेका छन् । पहिरोमा परि मधुवन नपा–६ का ३९ वर्षीय नरेन्द्र खड्का, ३० वर्षीया उनको श्रीमती सरस्वती र छोरा २ वर्षीय रोमन बेपत्ता भएको खड्काका आफन्तले बताए ।

यसैगरी एक जना बेपत्ताको पहिचान भइसकेको छ । बेपत्ता भएका गुलरिया सुकुम्बासी टोलका सुभाष विक हुन् । उनका आफन्तलाई जानकारी गराइसकेको पौडेलले बताए । सुभाषका बाबु, आमा शनिबार बाकुडा आई पुग्दैछन् भन्ने जानकारी पाएको उनले जनाए ।

यसैगरी सोही पालिका–५ गाउॅ नम्बर ८ का ४५ वर्षीय रामु परियारकी श्रीमती अमृता बेपत्ता छिन् । उनकी छोरी २१ वर्षीय लक्ष्मी गम्भिर घाइते भएकी छिन् । राम बहादुर श्रीमती र छोरीसँग यहाँ आएका थिए ।

गम्भिर भएकी लक्ष्मी परियारको शुशिला तिवारी अस्पताल हलद्वानी र मधुवनकै भुपेन्द्र खत्रीको फाउण्डेशन अस्पताल सतफलीमा उपचार भइरहेको छ । यस ठाउँमा सबै नेपाली सडक निर्माणका लागि दैनिक ज्यालादारी गर्न आएका हुन् । बर्दियाबाट विभिन्न समयमा तीन ग्रुपमा आएका ७३ जनामध्ये ५ जना बाढी पहिरोले बेपत्ता भएका छन् ।

घाइते भएका मधुवन–५ का उदय गुरुङ, मधुवन–८ का गोपाल थापा,बारबर्दिया नपा–४ का कालिग्राम चौधरी र मधुवन–५ का अशोक परियार अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।