धनगढी । कैलाली कारागारमा लामो समयदेखि दुई समूहबीच चलिरहेको विवाद शुक्रबार राति हिंसात्मक झडपमा परिणत हुँदा एक जना कैदीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्।

गत असारमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमालले कारागार निरीक्षण गर्दा ब्लक ‘ए’ मा मोबाइल फेला परेपछि सात जना कैदीलाई ब्लक ‘बी’ मा सरुवा गरिएको थियो। यसै सरुवाले कैदीहरूबीचको पुरानो मनमुटाव झनै गहिरिएको थियो। सोही तनावको शृङ्खला शुक्रबार राति भयावह बनेको हो।

यो घटनाले स्थानीय प्रशासन र सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ। लामो समयदेखि विवादका बारेमा जानकारी हुँदाहुँदै पनि यसलाई गम्भीरताका साथ लिइएन। सीडीओ हमालले पटक-पटक कारागारमा गएर सामान्य मिलापत्र मात्र गराउँदै आएका थिए, तर विवादको मूल कारण र समाधानमा ध्यान नदिँदा यो घटना दुःखद मोडमा पुगेको हो। यसले गर्दा सीडीओ हमाल र जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणाको नेतृत्वमाथि असफलताको आरोप लागेको छ।

गत असार २८ गते पनि कैदीहरूबीच हिंसात्मक झडप हुँदा नाइके खगेन्द्र बोगटी गम्भीर घाइते भएका थिए। आरोपअनुसार भूपेन्द्र बडुवाल हत्या प्रकरणमा थुनामा रहेका कपिल श्रेष्ठको समूहले बोगटीमाथि आक्रमण गरेको थियो। त्यतिबेला कैदीहरूले ‘जेलरको मान्छे’ भएको भन्दै बोगटीले रवाफ देखाएको आरोप लगाएका थिए।

त्यसै दिन सीडीओ र एसपीकै अगाडि कैदीहरूले जेलर बसन्त खत्रीविरुद्ध नाराबाजी गर्दै कारागारभित्रको मनोमानी अन्त्य गर्न माग गरेका थिए, तर प्रशासन र प्रहरीले यसलाई सामान्य रूपमा लिए।

बोगटी कुटिएको एक महिना नबित्दै बिहीबार साँझ पनि झडप भयो, जसमा पाँच जना घाइते भए। शुक्रबार दिउँसो पनि झडप भइरहेका बेला सीडीओ हमालले यसलाई ‘सामान्य विषय’ भन्दै टारेका थिए, तर उनको भनाइको केही घण्टापछि नै राति झडप भयावह बनेको हो। यसै झडपमा कैदी भरत चौधरीको मृत्यु भयो। गम्भीर घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि तनावग्रस्त बनेको कारागारको अवस्था बुझ्न कैलाली जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखहरू पुगेका थिए। तर, आक्रोशित कैदीबन्दीहरूले सुरक्षा प्रमुखहरूविरुद्ध नाराबाजी गर्दै उनीहरूलाई भित्र प्रवेश गर्न नदिई गेटबाटै फर्काएका छन्। अहिले कारागारमा आफन्त र मिडियालाई प्रवेशमा रोक लगाइएको छ।