काठमाण्डौ । नेकपा एमालेका नेता विष्णु रिजालले प्रदेशमा मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचनको प्रस्ताव राखेका छन्। सामाजिक सञ्जाल एक्समा उनले वर्तमान प्रदेश संरचनाले संघीय प्रणालीलाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गर्दै यस्तो धारणा राखेका हुन्।

रिजालले प्रदेशसभालाई ‘मुख्यमन्त्री र मन्त्री उत्पादनको कारखाना’ को संज्ञा दिँदै त्यहाँ सांसदहरूले विभिन्न पदहरू (मुख्यमन्त्री, मन्त्री, सभामुख, समिति सभापति, सचेतक) प्राप्त गर्ने लोभमा रमाइरहेको टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, ‘प्रदेशसभामा आएपछि मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, समितिका सभापति, दलका सचेतक नभएर पाँच वर्षमा कोही पनि रित्तो हात घर फर्किनु नपर्ने अवस्था देखिएको छ । आफ्नै पार्टीका मुख्यमन्त्रीले पनि दलका सदस्यको चित्त बुझाउन नसकेर बीचैमा छाड्नु परिरहेको छ ।’

उनले अगाडि भनेका छन्, ‘यसको समाधानका लागि स्थानीय तहमा जस्तै प्रदेश तहमा मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्नुपर्छ । यसबाट संघीयतालाई अलि स्थिर र उपलब्धिमूलक बनाउन सकिन्छ । नत्र संघमा समीकरण परिवर्तन हुँदा प्रदेशमा असर त पर्दछ नै, प्रदेशमै कुरा नमिल्दा पनि मुख्यमन्त्री परिवर्तन भइरहँदा यसले आम मानिसमा व्यवस्थाप्रति नै वितृष्णा उत्पन्न गराइरहन्छ ।’