दाङ । दाङको घोराही– लमही सडक खण्डमा भोलिदेखि तीन दिन दुई पाङ्ग्रे गाडी मात्रै चल्ने भएका छन । यसबाहेक चार पाङ्ग्रे गाडी बन्द हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

दाङ प्रवेश गर्ने र जिल्ला भएर बाहिर निस्कने मुख्य सडक घोराही–लमही सडकअन्तर्गत घोराही उपमहानगरपालिका–३ को मसोटखोला पुल मर्मतको काम चलिरहेकाले भोलिदेखि आउँदो साउन २४ गतेसम्मका लागि दुई पाङ्ग्रे बाहेकका अरु गाडी चलाउन बन्द गर्ने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले सडक डिभिजन, सुुरक्षा निकाय, यातायात व्यवसायी लगायतसँग समन्वय गरी भोलिदेखि बिहान ७ बजेदेखि २४ गते बिहान ७ बजेसम्मका लागि दुई पाङ्ग्रे गाडी मात्रै चल्न दिने निर्णय गरेको छ ।

घोराही–लमही सडकखण्ड बन्द हुँदा वैकल्पिक सडकका रूपमा अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही सडकको प्रयोग गर्ने निर्णय गरेको छ ।

यसैबीच लगातारको वर्षाका कारण पहिरो खसेपछि राप्ती राजमार्गको दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । दाङ–सल्यानको सिमाना नजिकै पहिरो खसेपछि आज बिहान ५ बजेदेखि सडक पूर्णरुपमा सडक अवरुद्ध भएको कपुरकोट प्रहरी चौकीका प्रमुख टंकेश्वर भट्टराईले जानकारी दिनुभएको छ ।