धनगढी। गेटा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत सञ्चालन गरिएको गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिँदै गएपछि बिरामीको चाप बढ्दै गएको हो ।



अस्पतालमा जनरल मेडिसिन, स्त्री तथा प्रसूति, मुटु रोग, छाला तथा यौन रोग, कान नाक तथा घाँटी रोग विशेषज्ञ, अर्थोपडीक सेवा, युरोलोजी, जनरल सर्जरी, बाल रोग विशेषज्ञ र डेन्टल सम्बन्धी सेवाहरू प्रदान गरिँदै आएको छ ।गेटा अस्पतालका सूचना अधिकारी नैनसिह कार्कीले विशेषज्ञ सेवा बिस्तार सँगै सेवाग्राहीको सङ्ख्या पनि बढिरहेको छ । उनले हाल दैनिक रूपमा १ सय ५० भन्दा बढी सङ्ख्या सेवाग्राही आउने गरेको बताए ।
यसैबिच सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसर टिकटक बनाउनेको भिड बढेपछि अस्पतालले त्यसमा रोक लगाएको छ । टिकटक बनाउन र फोटो खिच्नका लागि स्वास्थ्य विज्ञान विश्वविद्यालयको परिसरमा दैनिक सयौँ व्यक्ति पुग्ने गरेका छन् । टिकटक बनाउने र फोटो खिच्नको लागि भिडभाड हुन थालेपछि गेटा अस्पतालले अनावश्यक भीड नगर्न आग्रह गरेको हो ।

अस्पतालका निमित्त निर्देशक डा. होमप्रसाद पन्तले सूचना जारी गर्दै अनावश्यक भीडले अस्पतालको वातावरण र सुरक्षा व्यवस्थालाई समेत बाधा परिरहेको जनाएका छन् । अस्पताल परिसरभित्र बिना अनुमति सामाजिक सञ्जाल टिकटक र फोटो खिच्ने कार्य नगर्न पन्तले आग्रह गरेका छन् ।












