काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्ट र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सुरु भएको छ ।

न्यायाधीशहरू सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासमा दुवै निवेदन एकसाथ राखेर सुनुवाइ भइरहेको छ । महिमानले जिल्ला अदालत काठमाडौँको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि पक्राउ परेका उनलाई गत जेठ ५ गते जिल्लाले एक लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश गरेको थियो । विष्टले गत वैशाख १७ गते नाउपाका संरक्षक चौधरीलाई पक्राउ गर्न प्रहरी र डिल्लीबजार कारागारमा पत्राचार गरेका थिए । उक्त अनधिकृत पत्रका कारण चौधरी ५ घण्टा कारागारमा बस्नुपरेको थियो । पछि सर्वोच्चले पत्र सच्याएर पठाएपछि चौधरी छुटेका थिए ।

सोही दिन प्रहरीले विष्टलाई पक्राउ गरी लिखत किर्ते कसुरमा अनुसन्धान सुरु गरेको थियो । लिखत किर्तेमा प्रहरीले प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले विष्टविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त लिखत किर्तेको मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन छ ।

जिल्लाले धरौटीमा छाडेपछि नाउपाका संरक्षक चौधरीले गत जेठ १९ गते विष्टलाई थुनामा पठाउन माग गर्दै उच्चमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि उच्चले जिल्लाबाट सक्कल मिसिलसहितको कैफियत प्रतिवेदन मगाएर दुवै जनाको निवेदनलाई एक साथ राखेर सुनुवाइ सुरु गरेको छ ।

त्यस्तै विष्टले जिल्लाको धरौटी नमिलेको दाबी गर्दै त्यसलाई बदर गरी तारेखमा रहन पाऊँ भनी माग गरेका छन् । यस्तै उच्चमा चौधरीले विष्टलाई थुनामा राख्न दिएको निवेदन पनि खारेज गर्न विष्टले माग गरेका छन् । नेपालप्रेस