नेपालगंज । भारतको उत्तरप्रदेशको नानपारा क्षेत्रबाट पवित्र सरयू नदीको जल बोकी पैदल आएका करिब तीन हजार कावड यात्रीहरू बिहीबार बिहान नेपालगन्ज आइपुगे ।

यात्रुहरू नेपाल–भारत जमुनाह नाकास्थित सीमा खुल्नेबित्तिकै बिहान ६ बजे बागेश्वरी मन्दिरतर्फ अघि बढेका थिए । ‘उनीहरू एकसाथ जमुनाह नाकाबाट नेपालगन्ज प्रवेश गर्दा एउटा छुट्टै उत्त्साहको सञ्चार भएको थियो,’ भारतीय पत्रकार सन्तोष शुक्लले दैनिक नेपालगन्जसँग भने, ‘नेपाल–भारत नाकानै कावडमय देखिएको थियो । धार्मिक आस्था र सांस्कृतिक सद्भावको अनुपम उदाहरणका रूपमा, ती श्रद्धालुहरूले बागेश्वरी मन्दिर परिसरमा रहेको खडेश्वर जुँगे महादेवलाई ‘मैत्री जल’ चढाए ।

‘नानपारा शिवपुर तकिया घाटदेखि बागेश्वरीसम्मको यो पैदल यात्रा केवल धार्मिक यात्रामा सीमित रहेन, यो यात्राले भारत र नेपालबीचको सांस्कृतिक सञ्जाललाई झन् बलियो बनायो,’ पत्रकार शुक्लले भने । नवयुवक कावरिया संघ, नानपारा भारतका तहसील अध्यक्ष कुँवर बद्रीनाथ प्रताप सिंहको नेतृत्वमा आएको टोलीले यात्राको उद्देश्य स्पष्ट पा¥यो— ‘दुई देशबीचको मैत्री, विश्वास र संस्कृति झनै सुदृढ बनाउने’ ।

प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर भारतीय हिन्दुहरूको निकै महत्वको धार्मिक गन्तव्य हो । विहीवार उनीहरूको नेपालगन्ज प्रवेशसँगै गुठी व्यवस्थापन समिति, स्थानीय प्रशासन र सामाजिक संघसंस्थाहरूले यात्रुहरूको भव्य स्वागत गरे ।

‘मैत्री जल“को अघ्र्य दिइ पूजापाठ सम्पन्न गरेपछि ती यात्रीहरू साँझ पुनः भारत फर्किए, तर छाडेर गए— श्रद्धा, मित्रता र आपसी सद्भावको अमिट छाप । पत्रकार शुक्लका अनुसार, यस वर्षको यात्रामा राजेश पटेल, रवि वर्मा र जगतराम पटेलको विशेष सहयोग थियो ।

नेपालगन्जले यसपटक तीन हजार आस्थाका पाइला र तीन हजार नम्रताका मुष्कानहरूलाई स्वागत ग¥यो । र, एउटा सन्देश संसारभर पु¥यायो— ‘सीमा बाँडिन सक्छ, तर श्रद्धा कहिल्यै बाँडिँदैन ।’ हो, एउटा कुराको अभाव चाहिं खट्कियो, ‘बागेश्वरीको सरसफाइ र पुनःनिर्माणपछिको तलाउमा जल विहीनता ।’ भारतीय श्रद्धालुले जल भरेर लैजाने योजनामा ठेस लागेको गुनासो गरे ।

गुठीले जल भर्ने प्रक्रिया छिटै शुरु हुने बताउँदै आएको छ । नवयुवक कावरिया संघ नानपारा भारतका तहसील अध्यक्ष कुंवर बद्रीनाथ प्रताप सिंहले अरू भक्तजनपनि आउने सम्भावना औल्याउदै जलको अभावलाई सम्बोधन गर्न ध्यानाकर्षण गराए ।
स्थानीय प्रशासन र नेपालगन्जका सामाजिक संस्थाले यात्रालाई सहयोग गर्दै कावड यात्रुलाई दुई देशबीचको धार्मिक र सांस्कृतिक एकताको प्रतीकका रूपमा लिइएको बताए ।