जेठ २७,काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा गएराति पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै झापामा ८५ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



झापासहित दाङ, तनहुँ, काठमाण्डौमा पनि मध्यमसम्म वर्षा भएको छ । पानी परेका क्षेत्रमा केही शीतल महसुस भएको छ । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै ठाउँमा तातो दिन हुने सम्भावना रहेको छ । आज पनि देशका धेरैजसो भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।



आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै ठाउँहरू तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई ठाउँहरूमा मेघ गर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।



आउने शुक्रवार र शनिवार भने ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गएको छ । नेपालमा अहिले उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।














