काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अहिलेसम्म बजेट ल्याउन सकेको छैन। जबकि, असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने थियो। बाँकी ५ वटा महानगरले बजेट ल्याइसकेका छन्।



तर, देशकै राजधानी समेत भएको काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंको कारण देखाउँदै बजेट ल्याउन आनाकानी गरिरहेका छन्।
संघीय सरकारले आफूलाई असहयोग गरेको भन्दै उनी असन्तुष्ट छन्। बजेट नल्याएकोमा आलोचित बनेका बालेन्द्रले राजनीतिक भेटवार्ता गरिरहेका छन्। असार १९ गते उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उनकै निवासमा पुगेर भेट गरे।



बालेन्द्रका स्वकीय सचिव भूपदेव शाहका अनुसार भंगाल निवासमै भेटवार्ता भएको हो। ‘समसामयिक विषयमा मेयरसाबले विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको हो,’ उनले नेपालखबरसँग भने।



४ नम्बर वडाका अध्यक्ष एवं प्रवक्ता नवीन मानन्धरले आफूलाई मेयरले भेटबारे जानकारी दिएको तर विषय नखुलाएको बताए। ‘मेयरले विद्या भण्डारी भेटेको हो भन्नुभयो,’ उनले भने, मेयर त्यति खुलेर कुरा गर्नुहुन्न। अहिलेको महानगरको बजेटकै विषयमा छलफल भएको हुनुपर्छ।’
महानगरको कार्यपालिका बैठक समेत कहिले बस्ने, प्रस्ट छैन। बजेट ल्याउनको लागि वडाध्यक्ष, कार्यकारी प्रमुख लगायतसँग छलफल गर्नुपर्ने मेयर बैठक नै टारेर राजनीतिक छलफलमा केन्द्रित भएका छन्।
पूर्वराष्ट्रपतिसँग बालेन्द्रको भेटको निकै ठूलो अर्थ रहेको नेताहरू बताउँछन्। किनकि, भण्डारीले असार १४ गते मात्र एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी छन्। उनको पक्षमा एमालेकै नेताहरू खुल्न थालेका छन्। एमालेबाट जितेकी महानगर उपप्रमुख सुनिता डंगोलसँग पनि मेयरको सम्बन्ध सुमधुर बन्न सकेको छैन।
नेताहरूका अनुसार भण्डारीले नै बोलाएपछि बालेन्द्र भेट्न गएका हुन्। भण्डारीले बालेन्द्रसँग बजेट ल्याउन भएको ढिलाइबारे जिज्ञासा राखेकी थिइन्। बालेन्द्रले आफूलाई काम गर्न असहयोग भएको जवाफ दिएको भण्डारीसँग भेट गरेका नेताहरू बताउँछन्।
‘मैले संघीय सरकारबाट सहयोग पाइनँ, कार्यकारी पनि सरकारले पेलेर पठायो, म त स्वतन्त्रबाट चुनाव जितेर आएको, कसैप्रति आग्रह, पूर्वाग्रह राखेको छैन। मेरो बुद्धि, विवेकले जे देख्यो, त्यही गरेको हुँ,’ बालेन्द्रको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘मैले राम्रै गर्न खोजेको हो। तर, सबैतिरबाट असहयोग भयो।’
भण्डारीले मिलेर काम गर्न सुझाव दिइन्।
‘समस्या त आइहाल्छ, जनप्रतिनिधि भइसकेपछि सबैलाई मिलाएर काम गर्नुपर्छ,’ भण्डारील मेयरलाई दिएको सुझाव उद्धृत गर्दै ती नेताले थपे।
बालेन्द्र र विद्याको भेटमा एमालेका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ पनि सहभागी थिए। उनले भण्डारी निकट केही नेतासँग सो कुरा खुलाएका छन्।
मेयर बालेन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिइकन केन्द्र सरकारबाट हस्तक्षेप भएको भण्डारीलाई जानकारी गराएको ती नेताले बताए।
‘मेरा पनि कमीकमजोरी भयो होला, त्यो मैले सच्याउने कुरा भयो, तर संघीय सरकारले पूरै असहयोग गरिरहेको छ’ बालेन्द्रको भनाइ थियो।
मेयर बालेन्द्रले भण्डारीलाई अभिभावक नै मानेको समेत बताएका थिए। ‘म तपाईंलाई अभिभावक मान्छु, त्यस हिसाबले पनि यहाँले बोलाएको बेला आउँछु,’ बालेन्द्रको भनाइ भन्दै ती नेताले भने।
२०७७ चैत १० गते विश्व पानी दिवसको अवसरमा भएको कार्यक्रममा बालेन्द्रले विज्ञका रूपमा धारणा राखेका थिए। उनी त्यही बेलादेखि भण्डारीसँग विज्ञका रूपमा केही कार्यक्रममा समेत सहभागी भएका थिए।
पुरानो सम्बन्धका कारण मेयर बालेन्द्रले पूर्वराष्ट्रपति भण्डारीसँग सहयोग मागेको नेताहरू बताउँछन्। ‘मेयरले एउटा अभिभावक त चाहिँदो रहेछ भनेर विद्या भण्डारीको साथ खोज्नुभएको रहेछ,’ कृष्णगोपाल श्रेष्ठको भनाइ उद्धृत गर्दै अर्का नेताले भने।
काठमाडौँ भ्युटावर निर्माणमा अनियमितताको आरोप लगाउँदै प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंलाई बालेन्द्रले काम गर्न दिएका थिएनन्। तर, संघीय सरकारकै जोडबलमा उनी फेरि महानगर फर्किएका थिए। यसप्रति असन्तुष्ट बालेन्द्रले गुरागाईंलाई राखेर बजेट ल्याउन चाहेका छैनन्। भण्डारीले पनि आफू केपी ओली जस्तो नभएको सन्देश दिएको उनीनिकटको भनाइ छ।


