काठमाडौँ  । पार्टी राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले थप सक्रियता बढाएकी छन्। राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएको २८ महिनापछि नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी उनले राजनीतिक भेटघाट र छलफललाई तीव्रता दिएकी छन्।

निरन्तर दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी १४ असार २०८२ मा सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्। त्यसअघि पनि सबै पक्षसँग बृहत् छलफल गरेका उनले सक्रिय राजनीतिमा फर्किएसँगै त्यसलाई झन् तीव्र बनाएकी हुन्।

सक्रिय राजनीतिमा फर्किएको घोषणापछि भण्डारीलाई भेट्न एमालेकै नेता–कार्यकर्ताको लर्को बढी लाग्ने गरेको छ। ‘समाजका विभिन्न व्यक्तित्वहरूसँग त उहाँ (भण्डारी)ले नियमितजसो भेटघाट गर्दै आउनुभएकै थियो’, स्रोतले भन्यो, ‘यसका साथै अहिले पार्टीकै आमनेता–कार्यकर्ता नै भेटघाट गर्न बढी पुग्ने गर्नुभएको छ।’

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको रोक्ने प्रयासबीच पार्टीमा पुनरागमन गरेकी भण्डारीलाई एमालेको भावी नेतृत्वका बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ। यहीबेला ओलीसँग रुष्ट रहेकाहरूसँग भण्डारीले गरेका भेटवार्ता तथा छलफललाई अझ अर्थपूर्ण रूपमा हेरिएको छ।

एमाले पूर्वउपाध्यक्ष रहेकी भण्डारीले केही दिनअघि मात्रै ओलीसँग रुष्ट रहेका काठमाडौँ महानगरका मेयर बालेन साह र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई निवासमै भेटिन्।

भण्डारीकै स्वकीय सचिव राजकुमार राईले भेटघाट भएको पुष्टि गरे। थाहाखबरसँग उनले भने, उहाँहरू (बालेन र नारायणकाजी) सँग भेट भएको हो। यही विषयमा कुराकानी भयो भन्ने जानकारी चाहिँ मलाई पनि भएन।’

खासगरी एमालेमा नेतृत्वसँग असन्तुष्ट रहँदै आएका नेता–कार्यकर्ताको पंक्ति भण्डारी सक्रिय राजनीतिमा फर्किएपछि उत्साहित छन्। कतिपय नेताहरूले खुलेरै एमालेको भावी अध्यक्षका रूपमा भण्डारीलाई अघि सार्दै आएका छन् भने ओलीलाई रोक्ने गरी नीति तथा विधिको वकालत गर्ने गरेका छन्।

प्रतिवादमा संस्थापन पक्षका नेताहरूले विधि–विधानले भावी नेतृत्वका लागि ओलीलाई नरोक्ने र उनको विकल्प नभएको बताउँदै आएका छन्।

मध्यमार्गी बने अधिकांश नेता

पूर्वराष्ट्रपति भण्डारीको पुनरागमनपछि केही नेता खुलेरै उनको पक्षमा र केही ओलीको पक्षमा उभिएका छन् तर अधिकांश नेता–कार्यकर्ता भने एमालेभित्रको ह्वीम कता जाला भनेर हेरिरहेका छन्।

अल्पमतमा पर्नेको पक्षमा खुलिहाल्दा राजनीतिक भविष्य संकटमा पर्ने हुँदा ह्वीम पर्खेर त्यसतर्फ खुल्ने रणनीतिमा धेरैजसो नेता देखिन्छन्। भण्डारी आउनुअघि ओलीको विकल्प छैन भन्ने कतिपय नेताहरू नै अहिले मध्यमार्गी धारणा राख्ने गरेका छन्।

पूर्वमन्त्री तथा एमाले सचिव पदमा अर्याल भावी अध्यक्षमा जो भए पनि महाधिवेशनले नै टुंगो लगाउने बताउँछिन्। अहिले एमाले विधान महाधिवेशनको मुखमा रहेकाले राष्ट्रिय महाधिवेशनसँग जोडिएको विषयको चर्चासमेत आवश्यक नरहेको उनको तर्क छ।

‘अहिले एमाले विधान महाधिवेशनको तयारीमा छ। त्यसकारण आजको बहस पार्टीको विधि विधान र नीतिमा हो’, उनी भन्छिन्, ‘नेतृत्वको बहस महाधिवेशनको मिति तोकिएपछि आकांक्षी को–को हुनुहुन्छ, क–कसले आफूलाई प्रस्तुत गर्नुहुन्छ, त्यसका आधारमा हुन्छ।’

सचिव अर्याल जो अध्यक्ष बने पनि सर्वसम्मत हुने दाबी गर्छिन्। पूर्वराष्ट्रपति भण्डारी र पार्टी अध्यक्ष ओलीबीच हार्दिकता नै रहेको जिकिर उनको छ।

‘म निर्धक्क भन्छु, ११औं राष्ट्रिय महाधिवेशनले एमालेको मुल नेतृत्व सर्वसम्मतिले छान्छ’, उनी भन्छिन्, ‘पूर्वराष्ट्रपति र पार्टी अध्यक्षबीच हार्दिकता छ। हरेक विषयमा उहाँहरूबीच छलफल हुन्छ। एउटा निष्कर्ष निकाल्नुहुन्छ, हामीले त्यसलाई कार्यान्वयन गर्छाैँ।’

पूर्वराष्ट्रपतिको सक्रियतालाई निजी भन्दै नेतृ अर्याल राजनीतिसँग जोडेर चर्चा गरिरहनु आवश्यक नभएको बताउँछिन्। ‘पूर्वराष्ट्रपतिको कार्यकाल सकिएपछि बाँकी जीवन कसरी बिताउने भन्ने उहाँको स्वतन्त्रताको कुरा हो। त्यसकारण उहाँले गर्नुभएका निजी भेटघाटलाई राजनीतिसँग जोडेर उहाँको स्वतन्त्रतामाथि यति धेरै चर्चा हुनुपर्ने कारण मैले देख्दिनँ।’

ओली निकटकै अर्का आनन्द पोखरेल पनि ११औं महाधिवेशनमा सहमतिबाटै नेतृत्व टुंगो लाग्ने बताउँछन्। ओली र विद्या एउटा सिक्का दुईपाटा भएकाले उनीहरूबीच प्रतिस्पर्धा हुने कुनै सम्भावना उनी देख्दैनन्।

‘पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आएपछि एमाले दुई चिरामा विभाजन भयो हुन्छ भन्ने कुरा गलत हो। किनभने केपी शर्मा ओली र विद्या भण्डारी भनेको एमालेका लागि एउटा सिक्काका दुईटा पाटा हुन्। कसैले छुटाउन सक्दैन’, उनी भन्छन्, ‘महाधिवेशनमा विद्या र केपी ओली एकअर्काका प्रतिस्पर्धी भएर चुनाव लड्छन् भन्ने मलाई चाहिँ लाग्दैन। त्यो सम्भावना देखेको छैन।’

राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएदेखि नै पूर्वराष्ट्रको हैसियतमा पाउने सरकारी सेवासुविधा नलिएर भण्डारीले सक्रिय राजनीतिमा फर्कने संकेत दिइसकेकी थिइन्। त्यसपछि क्रमशः समाजका विभिन्न प्रबुद्ध वर्गहरूसँगको निरन्तर भेटघाट तथा छलफल, पार्टीका कार्यक्रमहरूमा खुलमखुला सहभागी, नेता कार्यकर्ता भेट्न देशदौडाहा हुँदै अन्तिममा पार्टी सदस्यता नै नवीकरण गरेर उनले राजनीतिमा फर्कन दुई वर्षभन्दा बढी ‘वार्मअप’ गरिन्।

त्यही वेलादेखि भावी नेतृत्वका लागि निर्विकल्प जस्तै रहेका एमाले अध्यक्ष ओलीले भण्डारीलाई रोक्न अनेक हतकण्डा अपनाए। सम्मान तथा पुरस्कार र प्रशंसा मात्रै होइन, उनलाई राजनीतिमा ल्याउन सक्रिय पार्टीभित्रकै ठूलो पंक्तिमाथि पटक–पटक चेतावनीको भाषा प्रयोग गरे।

सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्नु १० दिनअघिसम्म पनि ओलीले भण्डारीलाई बालुवाटार बोलाएर रोक्न खोजेका थिए। उनले लामो समय सक्रिय राजनीतिको ग्याप भएकाले चुनौती सामना गर्न कठिन हुने भन्दै भण्डारीलाई सम्झाउन खोजेका थिए।

नेताहरूका अनुसार जवाफमा भण्डारीले बरु अहिलेसम्म आफूले सहयोग गरेको भन्दै अब आफूलाई सहयोग गर्न ओलीसँग आग्रह गरेका थिए। यसरी ओलीको अनेक प्रयासबीच नरोकिएका भण्डारीले राजनीतिमा आएर पनि सक्रियता बढाएका हुन्। जसलाई एमाले संस्थापन पक्षले रुचाएको छैन।