काठमाडौँ । एमाले र कांग्रेस नेतृत्वको सत्ता गठबन्धन तोड्ने प्रयास भइरहेको एमालेका सचिव रघुवीर महासेठले बताएका छन् । प्रमुख प्रतिपक्षी दल मा‌ओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन तोड्ने प्रयासको नेतृत्व गरिरहेको महासेठको दाबी छ ।

वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा प्रयास भइरहेको दाबी गर्दै महासेठले त्यसको नेतृत्व दाहालले गरिरहेको आरोप लगाएका हुन् ।

आइतबार जनकपुरमा आयोजित कार्यक्रममा एमाले सचिव महासेठले माओवादी अध्यक्ष दाहाललाई स्वतन्त्र सांसद, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले सहयोग गरिरहेको पनि दाबी गरे । ‘राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यो गठबन्धन तोड्नलाई प्रयास भइरहेको छ । जसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष माननीय पुष्पकमल दाहालले गरिरहनुभएको छ । उहाँलाई यसमा सहयोग गर्ने धेरै स्वतन्त्र पार्टी पनि छन् । स्वतन्त्र सांसद पनि छन् । राष्ट्रिय स्वतन्त्र पार्टी पनि छन्,’ महासेठले भने, ‘त्यो सँगसँगै यो सरकारलाई, यो गठबन्धनलाई मन नपराउने गठबन्धन घटककै केही सांसद पनि हुनुहुन्छ । जो यो सरकार बनेदेखि नै यो गठबन्धनको विरोधमा क्रियाकलाप गरिरहनुभएको छ ।’

सांसदसमेत रहेका महासेठले विदेशी शक्तिले पनि सरकार ढलाउनका लागि प्रयास गरिरहेको बताए । ‘मधेस प्रदेशका केही समानुपातिक सांसद यो गठबन्धन बनेको दिनदेखि नै विदेशी शक्तिको आडमा यो गठबन्धनको विरोध गरिरहेको छ । तर उहाँहरूको विरोधले अहिलेसम्म यो सरकार प्रतिकुल अवस्थामा पुगेको छैन,’ उनले भने, ‘अहिले कांग्रेसका सभापति माननीय शेरबहादुर देउ र एमालेका अध्यक्ष केपी शर्मा ओलीको बीचमा जुन एउटा तालमेल बनाएर दुई जनाको सोचअनुसार यो सरकार अघि बढिरहेको छ ।

सरकारविरुद्ध सत्ता गठबन्धनमा रहेका कुन सांसदले प्रयास गरिरहेका छन् भन्ने महासेठले बताएनन् । देशमा अहिलेको भन्दा कुनै पनि गठबन्धनको विकल्प नरहेको महासेठको दाबी छ ।