काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले बिपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुली जाने सडकमा एक महिनाका लागि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

सक्रिय मनसुनका कारण बाढीपहिरोको जोखिम बढेको भन्दै प्रशासनले असार २२ गतेदेखि लागू हुने गरी साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म उक्त सडकखण्डमा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले शुक्रबार सूचना जारी गर्दै सवारी चालक, यात्रु र सरोकारवालाहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।