काठमाण्डौ । संघीय निजामती विधेयकमा व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’ मा भएको छेडखानीबारे छानबिन समिति गठन गर्न सभामुख देवराज घिमिरेले परामर्श थालेका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय लगत्तै सभामुख घिमिरेले छानबिन समितिबारे परामर्श सुरु गरेका हुन्।



बुधवार मात्रै राज्य व्यवस्था समितिले संसदीय छानबिन समिति गठन गर्न अनुरोध गर्ने निर्णय गरेको थियो। समितिका सभापति रामहरि खतिवडाले बैठकका निर्णयबारे सभामुख घिमिरेलाई मौखिक जानकारी गराएपछि सभामुखले छलफल थालेका छन्।



सभामुखले खतिवडासहित एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग परामर्श गरेका छन्।



सभामुख घिमिरेले छानबिन समितिको मोडालिटी र टीओआरबारे छलफल गरेको छलफलमा सहभागी नेताहरूले बताएका छन्। नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली देशबाहिर रहेकाले उनी फर्केपछि प्रमुख दलका शीर्ष नेताहरूसँगको समेत परामर्शमा समिति गठन गर्न सुझाव दिएका छन्।



यसैबिच संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सचिवालय सचिव (प्रशासन) डा. रोजनाथ पाण्डेलाई प्रशासनिक छानबिन र कागजात अभिलेखीकरणका लागि तोकेको सभामुख घिमिरेलाई जानकारी दिएको सभामुखको सचिवालयले जनाएको छ।