काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापाप्रति लक्षित गर्दै धम्की दिएका छन् । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै उनले यस्तो धम्की दिएका हुन् ।

‘ममाथि लागेको भ्रष्टाचारको मुद्दा त मैले अन्तिमसम्म प्रतिकार गर्छु, लड्छु,’ उनले गगन थापाप्रति लक्षित गर्दै भने, ‘तालु खुइल्याएर कपाल झार्नेहरूलाई पनि गाह्रो पर्ला । हाम्रो महत्वाकांक्षा धेरै छैन । तर होस् गर्नुस्, ठाउँको ठाउँ पर्ला, कुठाउँ पर्ला !’

उनले महामन्त्री थापाको बारेमा त्रिचन्द्र कलेजदेखि स्वास्थ्य मन्त्रालयसम्मको विषयमा जानकार रहेको बताए । ‘देशका लागि कांग्रेस र प्रजातन्त्रका लागि कति गरेँ ? कोही बोल्नुपर्दैन ? महामन्त्री गगनजी अख्तियारमा धेरैपल्ट जानुभयो । भुटानी शरणार्थी प्रकरणका बेलामा बालकृष्ण खाँण पनि समाउनुपर्छ भन्नुभयो । तपाईंको बारेमा हामीले भनेका छैनौँ । त्रिचन्द्र कलेजको सचिव हुँदादेखिको स्वास्थ्य मन्त्रालयसम्मका विषयमा हामी पनि जानकार छौँ । म पनि बसेको ठाउँ हो स्वास्थ्य मन्त्रालय ,’ बस्नेतले भने ।

आफूलाई अहिले गभर्नरसँग साटिएको बताउँदै आक्रोश पोखे । ‘अहिले पाकिस्तानी मोडलमा राजनीति गयो । कोही प्रधानमन्त्री, मन्त्री, सचिव, अख्तियारका पदाधिकारी जो पनि जान्छन् । समय लाग्ला कोही सग्लो बस्दैन,’ उनले भने, ‘अदालतमा मुद्दा भएकाले मैले धेरै बोल्न मिल्दैन, तर किन नबोल्ने ? हामी नेताहरुलाई छिसिक्क हुनासाथ अख्तियार पठाइदिने ? अख्तियारका आयुक्त जेल परेका छैनन् ? संसद्को के हालत छ ?’