काठमाडौँ । कांग्रेसको जारी केन्द्रिय समिति बैठकमा नेता शेखर कोइलामाथि विनोद चौधरी खनिएका छन्।

कोइरालाले सोमबार बैठकमा भाग लिँदै सभपाति देउवामाथि विभिन्न प्रश्न उठाएका थिए। जसमा चौधरीलाई योग्यता नै नपुगी केन्द्रीय सदस्य किन बन्न दिएको भन्ने थियो।

कोइरालाले सोमबार बैठकमा चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यतामाथि प्रश्न गर्दै भनेका थिए, ‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो? सभापतिज्यूलाई स्मरण होला, पहिलोपटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिष्पर्धा गर्दै हुनुहुन्थ्यो । उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रिय सदस्य लड्ने ईच्छा ब्यक्त गर्नुभयो । १० बर्ष नपुगेकोले गिरिजाबाबुले सुजातालाई उमेदवार बन्न दिनुभएन।’

जवाफमा चौधरीले मंगलबार कोइरालालाई जवाफ दिएका छन्।

चौधरीले बैठकमा भने, ‘म उहाँलाई जानकारी गराउन चाहन्छु कि त्यो सारा विधि कुराहरु पार्टीको नियम, अर्को पार्टीबाट आएको पृष्ठभूमि, त्यसको कानुनी परिपेक्ष पार्टीको कानुन विभागले गरेको त्यसको विश्लेषण र त्यसपछिको निर्णय निर्णय र त्यसपछि गएको कोर्ट र कोर्टले समेत गरेको निर्णय अनुसार भएको हो।’

चौधरीले आफ्नो योग्यतामाथि उठेको प्रश्नको जवाफ मात्रै दिएनन्।

कोइरालामाथि चुनाव हराउन लागेको गम्भीर आरोप पनि लगाए। कोइरालाले प्रतिस्पर्धी हृदेश त्रिपाठीलाई सहयोग गर्न मान्छे नै खटाएको दाबी चौधरीले लगाए। उनले त्यस्तो प्रवृत्ति बोकेका कोइरालाले पार्टीको नेतृत्वमा दाबी गर्नु नै अनुचित भएको जिकिर गरे।

‘घरघर गएर यो पार्टीको आधिकारिक उम्मेदवारको विरोधमा हृदय त्रिपाठीका लागि ठाउँ ठाउमा बुथबुथमा मान्छे राखिकन यस पार्टीका शीर्षस्थ नेताहरूलाई तथानाम गाली गरेर हराउनका लागि हर प्रयास गर्ने, चौधरीको भनाइ उद्धृत गर्दै बैठक स्रोतले अगाडि भन्यो, ‘लुम्बिनी प्रदेशको महामन्त्रीको पदमा आसिन भएर बस्ने मान्छेलाई बोकेर हिँड्ने नेताले यो पार्टीलाई हाक्ने हो भोलिको दिन?’

चौधरीले कोइरालको गुटगत गतिविधिले सीमा नाघेकाले नियन्त्रण गर्नसमेत माग गरे।

उनले भने, ‘म सभापतिलाई आग्रह गर्न चाहन्छु। गुटको राजनीतिको पनि एउटा सिमा हुन्छ। यो अहिलेको कारबाही मात्र होइन, यसपछि पनि सधैँ नै यस्ता किसिमका गतिविधिमा संलग्न हुने, पार्टीलाई नोक्सान र्पुयाउने, पार्टीका आधिकारिक उम्मेदवारलाई नोक्सान र्पुयाउने, आफ्ना जिम्मेवारीलाई पूरा अगाडि नबढाउने त्यस्ताका खिलाफमा उजुरीमात्रै हैन तत्काल कारबाही गर्नुपर्छ।’