काठमाण्डौ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले विकासका नाममा बजेट वितरण गर्दा उत्तरदायित्वको लङ्गौटी पनि बेपत्ता भएको टिप्पणी गरेका हुन् । ‘तुइनको खतरापूर्ण डोरी काटेर बजेटको पोटली बाँडिँदा, उत्तरदायित्व नामको लङ्गौटी कसैको नजरमा परेन’, शर्माले लेखेका छन्, ‘हामी त अझै त्यो डोरी समात्न बाध्य छौँ, यसैमा विकास खोज्ने कि आलोचना गर्ने ?’

सांसद भट्टराईले बजेटले समन्यायिक वितरण, समान पहुँच र जवाफदेहिता सुनिश्चित गर्न नसकेको जनाउँदै मुलुक बनाउने नाममा गरिएको खर्चले जनतालाई पारि पुर्‍याओस् भन्ने आशा व्यक्त गरेका छन् ।

शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र  सांसद हुन् । उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन् । यस्ता शिविरमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने काम निरन्तर भइरहेको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ । पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता उनले जनाएका छन् । हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन् । साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन् ।