काठमाडौं । रुपन्देही ३ हुन लागेको उपनिर्वाचनमा मधेस केन्द्रित सात सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवार अघि सारेर जानेगरी छलफल चलाएको छ। अलगअलग जाँदा जित्न नसक्ने निष्कर्षसहित सात दल छलफलमा जुटेका हुन् ।

लाजिम्पाट वावा होटेलमा आज बसेको मोर्चाको बैठकमा उपनिर्वाचनमा मिलेर जानेबारे छलफल भएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए। बैठकमा यसबाहेक मोर्चाको भावी कार्यक्रम, कार्यविधिको पूर्णता, राजबन्दी रिहाइ, पछिल्ला विकसित घटनाक्रमबारे छलफल भएको बताए ।

उपचुनावमा साझा उम्मेदवार बनाएर जानेबारे छलफल भएपनि आज कुनै सहमति नभएको उनले बताए । थप छलफलको लागि आइतबार दिउँसो सोही स्थानमा बैठक बस्ने उनले बताए ।

बैठकमा सहभागी एक नेताका अनुसार त्यहाँ नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टीले दाबी गरेका छन्। गएको निर्वाचनमा समानुपातिकतर्फ नाउपाले ६ हजार १०, जसपा नेपालले ५ हजार २९१, लोसपाले ५ हजार ५३ र जनमतले ३ हजार ७३२ मत ल्याएका थिए ।

ती नेताले भने, ‘सहकार्य गरेर जाने भन्ने विषयमा छलफल सुरु भएको छ, चार पार्टीले गएको चुनावमा पनि राम्रो मत ल्याएको देखिएको छ । त्यसैले आजको बैठकमा कुरा प्रवेश भयो, सबै दलले आन्तरिक छलफल गरेर आइतबार बस्ने बैठकले टुंग्याउनसक्छ ।’

बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कांग्रेस, एमाले, रास्वपाले आन्तरिक रूपमा तयारी थालिसकेका आफूहरू पनि एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

गएको निर्वाचनमा नाउपाले उम्मेदवारी दिएर सम्मानजनक मत पाएको भन्दै उपनिर्वाचनको लागि रुपन्देहीमा पार्टीको उम्मेदवार करिब तय भइसकेको भन्दै दाबी पेस गरेका थिए ।

रुपन्देहीसहित गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) को रिक्त सदस्यको उपचुनावकोको मिति यही १६ गते तोक्ने तयारी गरेको छ ।

आजको बैठकमा जसपा नेपालबाट उपेन्द्र यादव, राजकिशोर यादव, मनिष सुमन र रामकुमार शर्मा, नागरिक उन्मुक्तिबाट रेशमलाल चौधरी, लालवीर चौधरी र अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टीबाट राजेन्द्र महतो, केशव झा र सिएन थारु सहभागी थिए ।

यस्तै, लोसपाबाट महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र ज्ञानेन्द्र झा, जनमतबाट अब्दुल खान, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजी यादव र सबिर हुसेन, तमलोपाबाट वृषेश चन्द्र लाल र ब्रजकिशोर सिंह सहभागी थिए।