चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ समस्या २०६४ सालदेखिको भएको बताएका छन्।



प्रेस सेन्टर चितवनले मंगलबार दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो समस्या अहिलेको मात्र भएको गरी हेरिनु नहुने बताएका हुन्।



‘यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईंहरूले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ’, उनले भने। यस विषयलाई त्यत्तिकै नछाड्ने उनले बताए।
यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उनको धारणा छ।
प्रचण्डले आफूहरु प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताए। उनले भने, ‘हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ।’
अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पारे।





