काठमाण्डौ । विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि बस्न सकेन । बैठक भोलि दिउँसो तीन बजे बस्नेगरी स्थगित भएको हो । आजको बैठकमा प्रतिपक्ष दलले उठेर नाराबाजी गरे ।



त्यसअघि आज सभामुख देवराज घिमिरेको पहलमा प्रतिनिधिसभाको अवरोध खुलाउने विषयमो सत्तापक्ष र प्रतिपक्षी दलहरूको संयुक्त बैठक बसेको थियो । तर बैठकमा कुनै सहमति हुन सकेन ।



सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी बैठकमा सहमति जुट्न नसकेको हो ।



विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । जेठ १३ गतेपछि बजेट प्रस्तुत गर्ने दिन जेठ १५ बाहेक लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ ।


