काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मानिसबाहेक अरु केही निर्यात गर्न नसकेको बताएका छन्।



कांग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।



उनले सीमानाकामा नेपाली नागरिकहरुलाई धेरै दुःख दिन नहुने बताए। उनले नेपाल आयातमा निर्भर रहेको भन्दै आत्मनिर्भरतातर्फ अग्रसर हुनुपर्नेमा जोड दिए।
सभापति देउवाले उद्योगपतिले उद्योग खोल्ने र व्यापारीले व्यापार गर्नुपर्ने बताए। व्यापारी र उद्योगीहरुलाई उद्योग खोलेर व्यापार गर्न आग्रह गर्दै आफूहरु सहयोग गर्न तयार रहेको बताए।
उनले नेपालको उत्पादन गुणस्तरीय हुनसके विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिने बताए। पहाडमा वृक्षरोपण गर्न र पहाड बचाउन जरुरी रहेको उनको भनाइ थियो। नेपाललाई हराभरा बनाउन जरुरी रहेको उनले बताए।
उनले, ‘बोर्डरमा धेरै दुःख दिनु हुँदैन, नेपालीहरुलाई। खासगरी उपभोक्ता, मान्छेबोहक केही निर्यात नै छैन यहाँबाट। त्यस्तो अवस्था छ। अरु केही निर्यात गर्नै सकेका छैनौँ। आयातमा भर पर्नुपर्ने कुरा छ।’
सभापति देउवाले जलवायु परिवर्तनका कारणले नेपालका हिमालहरु नाङ्गो भइसकेको बताए। उनले नेपालले ४० प्रतिशत जंगल बचाउँदा केही राहत भइरहेको बताए।





