दाङ । राप्ती लोकमार्गअन्तर्गत दाङको राम्री–कपुरकोट सडक खण्ड आजदेखि नौ दिनसम्म दैनिक ६ घण्टा बन्द गर्न थालिएको छ । राम्री–कपुरकोट सडक खण्ड स्तरोन्नतिको काम गर्न आउँदो असार १ गतेसम्म दैनिक ६ घण्टा बन्द हुनेछ ।

जिल्ला प्रशासन कार्यालय दाङले यसअघि नै सूचना निकालेर आजदेखि आउँदो असार १ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सडक बन्द हुने जानकारी दिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सडक बन्द हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न चालक र यात्रुलाई आग्रह गर्नुभएको छ । साना गाडीका लागि वैकल्पिक मार्गका रूपमा पैयाखोरिया–सातबास–किमुचौर–कपुरकोट सडक प्रयोग गर्न सकिने भएको छ ।