काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति दिएको अभिव्यक्तिको भत्सना गर्दै पार्टी सभापति शेरबहादुर देउवासँग सरकारलाई दिएको समर्थनको समीक्षा गर्न माग गरेका छन्।

‘कस्तो विडम्बना, स्वयं हत्यामा दोषी करार ब्यक्तिले राष्ट्र निर्मातालाई अपमानजनक रुपमा प्रस्तुत गरेको छ। यो अभिव्यक्ति पछि नेपाली कांग्रेससँग पृथ्वीनारायण शाहको नेतृत्वमा निर्मित मुलुकको अखण्डता र राष्ट्रियताका लागि समर्पित रहने या ओलीको झोला बोक्ने। दुई विकल्प मात्र रहेका छन्?’, उनले भने।

भण्डारीले सभापति देउवालाई तत्काल ओलीसँग स्पष्टीकरण माग्न आग्रह गर्दै सरकारलाई दिएको समर्थन फिर्ता नलिए राष्ट्रियता, स्वतन्त्रता र प्रजातन्त्रबारे समान धारणा राख्ने साथीहरुले उचित निर्णय लिन अग्रसर हुने पनि बताए।

नेपाल एकीकरणका नायकको अपमान गरेर ओली बाह्य दासत्वतर्फ मुलुकलाई धकेल्न अग्रसर देखिन्छन्। ‘उनीसँग या त इतिहासको ज्ञान, राष्ट्रियता र राष्ट्र प्रेम छैन। या उनले मानसिक सन्तुलन गुमाएका छन्’ भण्डारीले देशसञ्चारलाई भने।