काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म आफूहरूको आन्दोलन जारी रहने बताएको छ।

शुक्रबार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारका बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो बताएका हुन्।

उनले देश, जनता, जिम्मेवारीवोध, संविधान र व्यवस्थाविरुद्धका क्रियाकलापलाई सम्झिएर बिहीबार संसद्‌मा बजेट प्रस्तुत गर्न दिएको बताए। उनले भिजिट भिसा प्रकरण बद्‌मासी, राजनीतिक रूपमा मानव तस्करीसँग जोडिएको विषयवस्तु रहेको बताए।

उनले उक्त भ्रष्टाचारसँग सम्बन्धित प्रकरणलाई करेक्सन नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने उल्लेख गरे। आफूहरूका मागलाई हल गर्ने कुरा सरकारको रहेको उनको भनाइ थियो।

भिजिट भिसामा विदेश जानेहरूसँग लाखौँ असुली गरेको प्रकरण गृहमन्त्री रमेश लेखक पनि संलग्न रहेको आरोप लगाउँदै विपक्षी दलहरूले उनको राजीनामाको माग गर्दै आएका छन्।