धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नाउपाभित्रको आन्तरिक किचलोका बीच प्रदेश सरकारले नयाँ मन्त्री पाएको हो । मन्त्री चौधरीले आफ्नो मातृभाषा थारुमा देश र जनाताको नाममा सपथ लिएका छन् ।

प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका नागरिक उन्मुक्ति पार्टी नाउपाका प्रदेशसभा सदस्य चौधरीलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।



सपथ पछि पत्रकार संग संक्षिप्त कुरा गदै मन्त्री चौधरीले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रर्वद्धनमा जोड दिन आफुले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले अहिले पनि सुदूरपश्चिम प्रदेशमा उद्योग धन्दाको अवस्था दयनिय रहेको हुदाँ त्यसमा आफ्नो ध्यान केन्द्रित हुने बताए ।
नाउपाको प्रदेश संसदीय दलले अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशनविपरीत ३१ वैशाखमा चौधरीको नाम मन्त्रीका लागि मुख्यमन्त्री कमलबहादुर शाहलाई सिफारिस गरेको थियो । अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन संसदीय दल र मुख्यमन्त्री शाहलाई सिफारिस पत्र पठाएकी थिइन् । तर, संसदीय दलले रामेश्वरलाई मन्त्री बनाउन सिफारिस गरेको थियो ।
१६ चैतदेखि उक्त मन्त्रालय मन्त्रीविहीन थियो । आर्थिक लेनदेनको कान्डमा मुछिएपछि १६ चैतमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका थिए । उनी पनि नागरिक उन्मुक्ति पार्टीबाटै मन्त्री भएका थिए ।