कैलाली। नागरिक उन्मुक्ति संसदीय दलको बैठक आज बस्ने भएको छ । नाउपा संसदीय दलको कार्यालयमा बिहान १० बजेलाई बैठक आह्वान गरिएको दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

उनका अनुसार बैठकले सरकारबारे निर्णय गर्नेछ। सरकारमा अहिले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कोही पनि सहभागी छैनन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका लक्ष्मण किशोर चौधरी ले विवादित अडिओका कारण राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्रीविहीन बनेको हो । आजको संसदीय दलको बैठकले उक्त मन्त्रालयमा कसलाई सिफारिस गर्ने भन्ने बारे निर्णय गर्ने जनाइएको छ ।



‘सरकारमा रहिरहने वा नरहने सरकारमा रहँदा कसलाई मन्त्री बनाउने भन्नेबारे आज हामी निर्णय गर्छौ’, दलका नेता चौधरीले भने । नाउपाको तर्फबाट घनश्याम चौधरी आफै सरकारमा सहभागी हुने वा रामेश्वर चौधरीलाई मन्त्री पठाउने भन्नेबारे आन्तरिक छलफल भइरहेको छ । स्रोतका अनुसार रामेश्वर चौधरीको सम्भावना अधिक छ। उनी यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भइसकेका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले तत्काल नै नाउपालाई मन्त्री सिफारिस गर्न भनिसकेका छन् । नीति कार्यक्रम र बजेट निर्माण गर्ने बेला मन्त्रालयमा मन्त्री नहुँदा काम प्रभावित छ । नाउपाले मन्त्री सिफारिस गरे तत्काल नै शपथ ग्रहण गर्ने गरी मुख्यमन्त्रीले तयारी गरेका छन्। आन्तरिक किचलोका कारण नाउपाबाट मन्त्री सिफारिस गर्न ढिलाइ भइरहेको हो।